फिल्म । प्रदर्शनरत नेपाली फिल्म ‘के घर के डेरा : घर नं २’ ले राम्रो ‘वर्ड अफ माउथ’ पाउन थालेको छ । आजबाट रिलिज भएको फिल्मलाई हेर्ने दर्शकले मन पराउँदै राम्रो भनेका छन् ।
‘बिहानभन्दा बेलुकाका शोमा दर्शकको संख्या धेरै देखिन थालेको छ । बिहानभन्दा बेलुका उच्च अकुपेन्सी देखिएको छ । वर्ड अफ माउथ बलियो हुँदै गएको छ । हेर्नेजति दर्शकले फिल्म राम्रो रहेको बताउनु भएको छ’, निर्देशक खनालले भने ।
उनले दर्शकबाट प्राप्त ‘वर्ड अफ माउथ’ ले अन्य दर्शकलाई हलसम्म निम्ता गर्ने बताए । आफूसहितको निर्माण युनिटले राम्रो फिल्म दर्शकलाई दिएको उनको भनाइ छ ।
दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्म उच्च शो र अपेक्षासहित आजबाट हलमा आएको हो । ‘के घर के डेरा : घर नं २’को कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् ।
फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकार लगायतको अभिनय छ । फिल्म एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । ‘के घर के डेरा : घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् ।