प्रदर्शनको ५१ औँ दिनमा ‘हली’

फिल्म । गत साउन २२ गतेदेखि देशव्यापी प्रदर्शनमा आएको नेपाली कथानक फिल्म ‘हली’ ले प्रदर्शनको ५१ औँ दिन पूरा गरेको छ।  फिल्म प्रदर्शन भएको ५१ औँ दिनको अवसरमा शनिबार धनकुटास्थित ‘धनकुटा सिनेमा प्रालि’मा विशेष कार्यक्रम आयोजना गरियो। ५१ दिन पूरा गरेको खुसीयालीमा दर्शकसँग प्रत्यक्ष भेटघाट र साक्षात्कार गर्न यसका निर्माताद्वय पूजा गुरुङ र जस्मिन श्रेष्ठसहित कलाकारको टोली धनकुटा पुगेको छ।

निर्माता पूजा गुरुङले भनिन्,‘दर्शकहरूलाई प्रत्यक्ष धन्यवाद दिन र खुसी साटासाट गर्न हामी धनकुटा आएका हौँ।’

‘एउटा हलीले पनि देशको मुहार बदल्न सक्छ’ भन्ने सकारात्मक सन्देश बोकेको यस चलचित्रमा छाउपडी प्रथाका क्रममा २१ दिनसम्म बुवा वा पुरुषको अनुहार हेर्नु हुँदैन भन्ने अन्धविश्वास र सामाजिक कुसंस्कारको कथा प्रस्तुत गरिएको छ।

ओमप्रतिकको लेखन तथा निर्देशन रहेको यस चलचित्रमा व्यवसायी पूजा गुरुङ र जस्मिन श्रेष्ठको संयुक्त लगानी रहेको छ। चलचित्रमा सरोज खनाल, अरुणा कार्की, प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, अर्जुन गुरुङ, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, र विशाल पहाडी लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ।

कमेन्ट गर्नुहोस्