फिल्म । ऐतिहासिक बिषयवस्तुमा बनेको ‘नालापानी’ फिल्मलाई कर छुट दिन पहल सुरु भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आफुले कर छुट प्रदान गर्न पहल सुरु गरेको बताए । ‘बुधबार सञ्चार सचिव डा. बैकुण्ठ अर्यालसँगको भेटमा नालापानीलाई कर छुट प्रदान गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छु । सचिवले तुरुन्तै अर्थ मन्त्रालयमा पत्राचार गर्नुभएको छ’ केसीले भने, ‘नेपालको गौरवगाथा बोकेको हुँदा चलचित्र विकास बोर्डले बिशेष चलचित्र घोषणा गरी राष्ट्रपतिबाट सम्मान प्राप्त गरीसकेकोले पनि कर छुटको लागि योग्य छ भनेर मैले पहल सुरु गरेको हुँ । यति मात्रै नभएर हलमा देखाईने विज्ञापन लगायतमा पनि मैले सहजिकरणको लागि पहल गरीरहेको छु ।’
केसीले राष्ट्रिय गौरव बोकेका फिल्महरूलाई प्रवर्द्धन गर्नुपर्छ भन्ने उद्देश्य आफुले सँधै राख्ने बताए । साथै केसीले बोर्डले ‘नालापानी’लाई दिन सकिने सबै सुविधा दिने उल्लेख गरे ।नालापानीका निर्माता तथा निर्देशक रिमेश अधिकारीले ढिलै भएपनि राज्यले सुविधा दिन खोजेकोमा खुशी व्यक्त गरेका छन् । उनले भने, ‘हिजो सञ्चार मन्त्रालयका सचिव, उपसचिव, सहसचिव र चलचित्र विकास बोर्डका अध्यक्ष सहितको बैठकमा यो चलचित्रलाई सुविधा प्रदान गर्ने बिषयमा गहन छलफल भयो । सचिवले विज्ञापनको लागि विभिन्न निकायमा पहल गर्ने प्रतिबद्दता जनाउनुभएको छ । उहाँले स्थानिय सहितका विभिन्न कर छुटका लागि अर्थ मन्त्रालयलाई अनुरोध गर्न पत्राचार गर्नुभएको छ । यस बिषयमा बोर्ड अध्यक्ष भुवन केसीले देखाउनुभएको अग्रसरताबाट म खुशी छु ।’
सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर ‘नालापानी’ निर्माण भएको हो । यसमा वीर योद्धा कुँवर र उनका ६०० सेनाले नालापानी युद्धमा कसरी साहस र बहादुरी देखाए भन्ने कुरा जीवन्त देखाइएको छ ।










