सेन्सरमै अड्कियो ‘ताण्डवम्’

फिल्म । यही शुक्रबार (फागु्न ९ गते)बाट प्रदर्शनमा आउने भनिएको फिल्म ‘ताण्डवम्’लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले प्रदर्शन अनुमति दिन अस्वीकार गरेको छ । फिल्ममा समावेश हिंसाका दृश्यप्रति आपत्ति जनाउँदै सेन्सर बोर्डले फिल्ममा समावेश उक्त दृश्यलाई काटेर पुनः सेन्सरमा ल्याउन भनेको छ । मंगलबार बेलुका गरिएको फिल्मको जाँच पास नभएपछि निर्माण पक्षले विहिबार पुनः सेन्सर गर्ने तयारीमा छन् । यद्यपि फिल्मको मर्म नै मारेर दृश्य काट्दा देखाउन खोजिएको कथा अपूर्ण हुने निर्माण पक्षओ भनाइ छ ।

‘दृश्य काँटछाँट नगरी ‘एडल्ट सर्टिफिकेट’ दिनका लागि आग्रह गर्दा पनि सेन्सरमा अस्वीकार गरियो’, उनले भने । सेन्सरमा फिल्म रोकिएपछि बुधबारका लागि तय भएको प्रिमियर स्थगित भईसकेको छ । सेन्सर बोर्डले भनेका दृश्यहरु काँटछाँट गरेर बिहीबार पुनः फिल्मको सेन्सर गर्ने तयारीमा निर्माण टिम छ । बिहीबार पनि बोर्डले जाँचपासको प्रमाणपत्र नदिएको अवस्थामा फिल्मको प्रदर्शन रोकिनेछ ।

फिल्मको सेन्सर रोकिएसँगै फिल्मकर्मीले ‘एनिमल’ लाई पास गर्ने सदस्यले नेपाली फिल्म भने रोकेको भन्दै विरोध गरेका छन् । जुनिम गहतराज, सरिना मगर, अंकित खड्का, पुष्कर गुरुङ, प्रेम सुब्बा, अनोज पाण्डे लगायतको अभिनय रहेको ‘ताण्डवम्’ले एक नवविवाहित जोडीले पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरूको जीवनमा घट्ने अकल्पनीय घटनाले निम्त्याउने उतारचढावको कथालाई पेस गरेको छ । एक्सन-थ्रिलर जनरामा बनेको फिल्मको टिजर र ट्रेलरले दर्शकमाझ चर्चा पाइरहेको छ ।

कमेन्ट गर्नुहोस्