संगीत । स्वर सम्राट नारायण गोपालको ३२ औं स्मृति दिवस सोमबार विभिन्न कार्यक्रमको आयोजना गर्दै मनाइएको छ । स्मृति दिवसका अवसरमा नारायण गोपाल संगीत कोष तथा सांस्कृतिक संस्थानले संयुक्त रूपमा विशेष सांगीतिक समारोह तथा सम्मान कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा गीतकार राजेन्द्र थापा तथा संगीतकार प्रकाश गुरुङलाई नारायण गोपाल स्मृति सम्मान एवं विशेष पुरस्कार अर्पण गरिएको थियो ।
आफ्नो अद्वितीय गायनबाट सबैलाई आकर्षण गरेका नारायण गोपाललाई स्वर सम्राटको उपाधि प्रदान गरिएको थियो । २०१८ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेपछि गायन यात्रालाई निरन्तरता दिएका नारायण गोपालले नेपाली भाषाका एक सय ३५ भन्दा धेरै गीत गाउनु भएको थियो ।
नेपाली आधुनिक संगीतको सिर्जनशील–युगको एकक्षत्र नेतृत्व गर्नुभएको नारायण गोपालको सुगम–संगीतको पाठशाला निर्माणमा पनि उहाँकै देन रहेको छ । विसं १९९६ असोज १८ गते काठमाडौंको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ साल मंसिर १९ गते दिन निधन भएको थियो ।