‘हली’ साइप्रसमा प्रदर्शन हुने

फिल्म । आगामी साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली फिल्म ‘हली’ ले नेपालमा रिलिज हुनुअघि नै अन्तर्राष्ट्रियबजारमा उत्साहजनक प्रतिक्रिया पाएको छ । निर्माण पक्षका अनुसार फिल्मको साइप्रस प्रदर्शन अधिकार पूर्ण रूपमा बिक्री भइसकेको छ भने त्यहाँका सबै शो अग्रिम रूपमा ‘सोल्ड आउट’ भएका छन् ।

शुभ चिरायू फिल्मस् र जापुरा फिल्मस् प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्मका निर्माताद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठले अन्य देशबाट पनि प्रदर्शन अधिकार खरिदका लागि तीव्र रूपमा छलफल भइरहेको जानकारी दिएका छन्। विभिन्न मुलुकका प्रदर्शन मिति र शोको आधिकारिक घोषणा छिट्टै गरिने उनीहरूको भनाइ छ।

वास्तविक घटनाबाट प्रेरित कथामा आधारित ‘हली’लाई निर्देशक तथा लेखक ओम प्रतीकले निर्देशन गरेका हुन्। फिल्मले समाजमा सकारात्मक परिवर्तन ल्याउन एउटै व्यक्तिको भूमिका पनि महत्त्वपूर्ण हुन सक्छ भन्ने सन्देश प्रस्तुत गर्ने निर्माण पक्षको दाबी छ। फिल्ममा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडी तथा निर्देशक ओम प्रतीकको विशेष अभिनय रहेको छ।

फिल्मको विशेष प्रचारात्मक गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माले नृत्य गरेका छन्। उक्त गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको फिल्ममा राहुल राईको छायांकन, रामप्रसाद चौधरी र विपिन मल्लको सम्पादन तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको छ।

नेसनल सिने ग्रुप प्रालिले वितरण गर्ने ‘हली’ को डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। विदेशमा प्रदर्शनअघि नै पाएको सकारात्मक प्रतिक्रिया र बढ्दो चर्चाले फिल्मको व्यावसायिक सम्भावनाप्रति निर्माण पक्ष उत्साहित देखिएको छ।

कमेन्ट गर्नुहोस्