सिन्दूर र साडीमा कान्स पुगिन् ऐश्वर्या

फिल्म । भारतीय अभिनेत्री ऐश्वर्या राय बच्चन हालै सम्पन्न ७८ औं कान्स फिल्म फेस्टिभलमा आफ्नो उपस्थितिले पुनः चर्चामा आइन् । यस प्रतिष्ठित समारोहमा उनले भारतीय फेसन डिजाइनर मनिष मल्होत्राले डिजाइन गरेको बनारसी साडी र गहनामा सजिएकी थिइन्, तर सबैभन्दा बढी ध्यान उनको सिउँदोमा सजिएको सिन्दूरले खिच्यो ।

ऐश्वर्याले कान्सको रेड कार्पेटका लागि मनिष मल्होत्राद्वारा डिजाइन गरिएको हातेबुना आइभोरी रंगको बनारसी ह्यान्डलूम साडी रोजेकी थिइन्, जसमा चाँदीको जरीको सुन्दर काम गरिएको थियो । साडीसँगै उनले सोही रंगको सल पनि बोकेकी थिइन् । उनको यो लुकलाई स्टेटमेन्ट रुबी औंठी र घाँटीमा रुबीको ठूलो हारले थप सुन्दरता प्रदान गरेको थियो । यो लुकले फेसन समीक्षक र प्रशंसकहरूबाट प्रशंसा बटुल्यो ।

विशेषगरी, उनको सिउँदोमा भरिएको सिन्दूरले अभिषेक बच्चनसँगको सम्बन्धविच्छेदको हल्लामा पूर्णविराम लगाएको धेरैले अर्थ्याएका छन् । लामो समयदेखि उनीहरुको सम्बन्धबारे विभिन्न अड्कलबाजी चलिरहेको थियो ।

यसका साथै, केही सामाजिक सञ्जाल प्रयोगकर्ता तथा विश्लेषकहरूले ऐश्वर्याको यो कदमलाई शब्दबिना नै अन्तर्राष्ट्रियमञ्चमा भारतीय संस्कृतिको प्रदर्शन र सांकेतिक जवाफको रूपमा पनि व्याख्या गरेका छन् । उनीहरूले यसलाई ‘भारतको अपरेसन सिन्दूर’ को संज्ञा दिँदै केही अप्रत्यक्ष सन्देश प्रवाह भएको रूपमा लिएका छन् । यद्यपि, यस्तो व्याख्याको आधिकारिक पुष्टि वा स्रोत भने खुलाइएको छैन ।

कमेन्ट गर्नुहोस्