फिल्म। सफल सिरिज ‘छक्का पञ्जा’ को चौथो शृंखलाको ट्रेलर सार्वजनिक गरिएको छ। फागुन १९ गतेबाट प्रदर्शनमा आउने ‘छक्का पञ्जा ४’ को ३ मिनेट २० सेकेन्डको ट्रेलरमा राजनीतिक विकृतिलाई प्रस्तुत गरिएको छ । पिताको राजनीतिक विरासत जोगाउन राजनीतिमा होमिएका दीपकराज गिरी (राजा) लाई खराब स्वभाव र शैलीको नेताको रुपमा चित्रण गरिएको छ ।
सुधार गृहबाट निस्किएपछि राजा पात्रको राजनीतिक यात्रा र त्यसक्रममा आउने विभिन्न आरोह-अवरोहलाई ट्रेलरमा रोचक शैलीमा बुनिएको छ । ‘दर्शन सलाम’ गीतका कारण चर्चामा रहेको फिल्मलाई हेमराज विसीले निर्देशन गरेका छन् । नीर शाह, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, सुष्मा निरौला, वेदना राई, मलिना जोशी, सविन बाँस्तोला, रमेश बुढाथोकीलगायतको पनि अभिनय रहेको फिल्ममा नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र दीपक स्वयंको कथा, पटकथा तथा संवाद छ ।
आमा सरस्वती मुभिज र आइएमईको संयुक्त प्रस्तुति रहेको ‘छक्का पञ्जा ४’को निर्माताहरुमा दीपेन्द्र खनिया र केशव न्यौपाने छन् भने कार्यकारी निर्माताहरु केदारप्रसाद घिमिरे र निर्मल शर्मा हुन् ।










