फिल्म । गत असोज २ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘झिँगेदाउ २’ले दोस्रो सातामा पनि दर्शकको उत्साहजनक साथ पाइरहेको छ। पारिवारिक कथा र मनोरञ्जनात्मक प्रस्तुतिका कारण फिल्म दर्शकको रोजाइमा परेको निर्माण पक्षको विश्वास छ।
वितरकका अनुसार फिल्मले पहिलो सातामा करिब डेढ करोड रुपैयाँको व्यापार गरेको छ। दोस्रो साताको शनिबार पनि विभिन्न हलमा फिल्मले राम्रो दर्शक पाएको छ भने शो संख्यामा समेत केही वृद्धि भएको वितरकले जनाएको छ।
दोस्रो साताको शनिबार विभिन्न हलमा दर्शकको उपस्थिति उत्साहजनक रहेको निर्माण पक्षले जनाएको छ। पहिलो साताको व्यापार र दोस्रो सातामा देखिएको दर्शकको चापले फिल्मको टिम थप उत्साहित भएको छ।
दर्शकले फिल्मको कथावस्तु, कलाकारको अभिनय, प्रस्तुति तथा गीत–संगीतको प्रशंसा गरिरहेका छन्। कतिपय दर्शकले फिल्म हेर्दा केही दृश्यमा खुलेर हाँसेको र केही भावनात्मक क्षणमा आफूहरू भावुक बनेको प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमले लिएका प्रतिक्रियामा कतिपय दर्शक भावुक भएर हलबाट बाहिरिएको समेत देखिन्छ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्मको कथा जेठानी र देउरानीबीचको झगडाबाट सुरु हुने पारिवारिक कलहको वरिपरि घुम्छ। सामान्य देखिने पारिवारिक विवाद कसरी ठूलो द्वन्द्वमा परिणत हुन्छ र त्यसले परिवारका सदस्यबीचको सम्बन्धमा कस्तो असर पार्छ भन्ने विषयलाई फिल्मले मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरेको छ।
पारिवारिक कलहसँगै आमाको महत्त्वलाई पनि फिल्मले प्रमुखताका साथ उठाएको छ। परिवारमा आमाको भूमिका, माया र त्यागलाई कथामार्फत प्रस्तुत गरिएको छ। यही भावनात्मक पक्षले दर्शकलाई कथासँग जोड्न सफल भएको निर्माण पक्षको दाबी छ।
फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, वसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी र आशा भुसाललगायतका कलाकारले अभिनय गरेका छन्।
परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्द फुयाँल र शिशिर चालिसेको लेखन छ। कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा सुलभ प्रतीक देउजा र समीक्षा देउजाको लगानी रहेको छ।
रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माता रहेको फिल्ममा विष्णु घिमिरे ‘कल्पित’को छायांकन, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत तथा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ।











