सङ्गीत । गायिका, मोडल तथा सञ्चारकर्मी सरिता भारतीले आफ्नो स्वरमा नयाँ तीज गीत ‘भिजायो फरिया बर्खैले…’को भिडियो सार्वजनिक गरेकी छन् । अविवाहित युवतीको भावना, प्रेम, उमंग तथा तीजको सांस्कृतिक माहोललाई समेटिएको गीत सरिताको आफ्नै आधिकारिक युट्युब च्यानल ‘एसबी क्रिएसन नेपाल’मार्फत सार्वजनिक गरिएको हो ।
तीजको मौलिक स्वादसँगै युवापुस्ताको भावनालाई प्रस्तुत गर्ने प्रयास गरिएको गीतका शब्द पत्रकार तथा गीतकार सुमन पण्डितले लेखेका हुन् । गीतको लय तथा संगीत पनि पण्डितकै रहेको छ । गीतमा मदन केसीको संगीत संयोजन, सुमन रानाको रेकर्डिङ तथा कुमार रानाको मिक्सिङ/मास्टरिङ रहेको छ ।
गीतको भिडियोमा गायिका सरिता भारतीसँगै ब्युटिसियन ट्यालेन्ट नेपाल सिजन–८ की विजेता चाँदनी श्रेष्ठ, ब्युटिसियन स्मृति सुब्बा, वरिष्ठ ब्युटिसियन सोनी कारञ्जित, ब्युटिसियनहरू निरु श्रेष्ठ, बिना रानामगर, मनिष नेपाल तथा बाल कलाकार वामिका जयसवाललगायतको अभिनय रहेको छ। कलाकारहरूको आकर्षक प्रस्तुति, तीजको मौलिक परिवेश र रमाइलो नृत्यले भिडियो थप जीवन्त बनेको छ।
भिडियोलाई ओमप्रसाद प्रसाईंले छायांकन तथा सम्पादन गरेका हुन्। मेकअपतर्फ बिना रानामगर, सृष्टि महर्जन, राधिका जयसवाल र नन्दिनी कुमारी मालीको योगदान रहेको छ। भिडियो एसबी क्रियसनको निर्माणमा तयार भएको हो।
भिडियोमा नृत्य निर्देशक सन्दीप भुजेलको कोरियोग्राफी, बद्री थापाको फोटोग्राफी तथा डब्बु क्षेत्रीको निर्देशन रहेको छ। भिडियोले तीजको उत्सवसँगै महिलाका भावनालाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरेको छ।
गायन क्षेत्रमा विगत एक दशकदेखि सक्रिय सरिता भारतीको यो तेस्रो तीज गीत हो। यसअघि उनले ‘रातो सारी लरक्कै…’ र ‘नाच्छ भने नाच्न दे…’ जस्ता तीज गीत सार्वजनिक गरिसकेकी छन्। यसपटक भने अविवाहित युवतीको मनोभाव, तीजको रमाइलो तथा वर्षाका कारण भिजेको फरियालाई प्रतीकात्मक रूपमा जोडेर गीत तयार गरिएको सरिताले बताइन्।
‘तीज भनेको महिलाका भावना, खुसी र उमंग व्यक्त गर्ने पर्व हो। यही भावनालाई गीत र भिडियोमार्फत प्रस्तुत गर्ने प्रयास गरेकी छु। दर्शक तथा श्रोताबाट अहिलेसम्म प्राप्त प्रतिक्रिया र मायाले निकै उत्साहित बनाएको छ,’ सरिताले भनिन्।
गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा पनि यसको चर्चा सुरु भएको छ। विशेषगरी गीतका शब्द, सरिताको स्वर, कलाकारहरूको प्रस्तुति तथा तीजको मौलिक परिवेशलाई दर्शकले रुचाएको निर्माण पक्षको भनाइ छ। गीतकार सुमन पण्डितले ‘भिजायो फरिया बर्खैले…’ यस वर्षको तीजमा दर्शक–श्रोतामाझ थप लोकप्रिय बन्ने विश्वास व्यक्त गरेका छन्।










