‘र’ विजेता बने लक्ष्मण र समृद्ध

देश । विश्वकै पहिलो कृषि गेम रियालिटी शो ‘Revolutionary Agriculture War (र)’ को पहिलो सिजन सम्पन्न भएको छ । राष्ट्रिय धान दिवसको अवसरमा आयोजित ग्रान्ड फिनालेमार्फत किसानतर्फ लक्ष्मण केसी र कृषि प्राविधिकतर्फ समृद्ध भन्तना विजेता घोषित भएका छन् । यस्तै, वृक्षारोपणमा आधारित भोटिङ प्रणालीबाट प्राप्त मतका आधारमा कृषि प्राविधिक सुमन बिमली ‘RAW Climate Award’ का विजेता बने।

अभिनेता राजेश हमाल महाहोस्ट रहेको ‘र’ करिब सात वर्षको अध्ययन, अनुसन्धान र तयारीपछि सञ्चालनमा आएको विश्वकै पहिलो कृषि-आधारित गेम रियालिटी शो हो । कृषि, उद्यमशीलता र जलवायु परिवर्तनका चुनौतीलाई केन्द्रमा राखेर निर्माण गरिएको यस कार्यक्रमले कृषिलाई सम्मानित पेशा तथा किसानलाई समाजका अग्रणी व्यक्तित्वका रूपमा स्थापित गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा देशका ७७ वटै जिल्लाबाट करिब एक हजार ६ सय किसान तथा कृषि प्राविधिकको आवेदन परेको थियो । विभिन्न चरणको प्रतिस्पर्धापछि उत्कृष्ट प्रतिस्पर्धीहरू ग्रान्ड फिनालेसम्म पुगेका थिए ।

शैलेश कडेल क्षेत्रीको परिकल्पना तथा निर्देशनमा सञ्चालन भएको ‘र’ ले प्रतियोगितासँगै सामाजिक रूपान्तरणका विभिन्न अभियान पनि सञ्चालन गरेको जनाएको छ । विद्यालय जागरण अभियानमार्फत विद्यार्थीलाई कृषिको सम्भावना र अवसरबारे प्रेरित गरिएको, नेतृत्व अभियानमार्फत कृषि विषयलाई नीति निर्माण तहसम्म पुर्‍याउने प्रयास गरिएको तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा २७ भन्दा बढी देशका प्रतिनिधिसमक्ष नेपालको कृषि र किसानको आवाज प्रस्तुत गरिएको कार्यक्रममा जानकारी दिइयो ।

त्यसैगरी, प्रतिस्पर्धीमार्फत सामाजिक सञ्जालमा प्रत्यक्ष अन्तरक्रिया गर्दै कृषि सचेतना फैलाउने अभियान पनि सञ्चालन गरिएको थियो। ‘र’ ले इतिहासमै पहिलो पटक वृक्षारोपणमा आधारित भोटिङ प्रणाली लागू गर्दै मतदानलाई वातावरण संरक्षणसँग जोड्ने नयाँ अभ्यासको सुरुवात गरेको जनाएको छ । यस अभियानअन्तर्गत करिब दुई लाख ७० हजारभन्दा बढी बिरुवा रोपिएको आयोजकको दाबी छ । कार्यक्रमले प्रतिस्पर्धीलाई केवल विजेताका रूपमा नभई कृषि परिवर्तनका अभियन्ताका रूपमा स्थापित गर्ने उद्देश्यलाई प्राथमिकतामा राखेको जनाएको छ।

कमेन्ट गर्नुहोस्