सांस्कृतिक संस्थानमा विशेष कार्यक्रम

देश। सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)ले विविध सांस्कृतिक कार्यक्रम गर्दै ३०१औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । विगतमा झैं संस्थानमा बुधबार आयोजित कार्यक्रममा संस्थानका कलाकारहरूले राष्ट्रिय भाव, एकता र वीरताका गीतसहित लोकनृत्यहरू प्रस्तुत गरेको हो । कार्यक्रममा पूर्वसंस्कृतिमन्त्री तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले नेपालको एकीकरण र अस्तित्वमा पृथ्वीनारायण शाहको ठूलो योगदान रहेको बताए ।

‘हामीले पृथ्वीनारायण शाहलाई कुनै राजा महाराजाका रूपमा होइन, देश निर्माण गर्ने अभियन्ता र सांस्कृतिक एकताका सूत्रधारका रूपमा पुस २७ लाई एकता दिवसका रूपमा मनाएका हौं’, पूर्वमन्त्री भट्टराईले भने, ‘नेपालको अस्तित्व कायम हुनुमा पृथ्वीनारायण शाहको ठूलो देन छ ।’ कार्यक्रममा पूर्वमन्त्री भट्टराईले सांस्कृतिक संस्थानको पछिल्लो कार्यहरूको प्रसंसा गदैं अब नयाँ पुस्तामा पनि सांस्कृतिक चेतना पु¥याउन जरुरी रहेको बताए ।

संस्थानका निवर्तमान अध्यक्ष प्रेमनाथ अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले मुलुकको पर्यटन विकासमा संस्कृति र प्रकृतिको महत्वपूर्ण योगदान रहने बताए । कार्यक्रममा सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्य, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिब बुद्धिसागर लामिछाने, नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान सदस्य सचिव जगतप्रसाद उपाध्यायलगायतले नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै संस्कृति प्रवद्र्धनमा सांस्कृतिक संस्थानको योगदानबारे आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रममा तीर्थराज पोखरेल, शिला विष्ट, दीपेन्द्र बज्राचार्य, विपिन घिमिरे, दुर्गा परियारलगायतले ‘जहाँ सुनका बाला’, ‘यही हो नेपाल’, ‘डर छैन देशका लागि’जस्ता विभिन्न गीत प्रस्तुत गरे । उनीहरूलाई बाद्यवादनमा खर्कबहादुर बुढा, नरसिंहलाल श्रेष्ठ, दुर्गाप्रसाद खतिवडा, रोहित सुवेदी, सीतामैयाँ राजचल, नरेश प्रजापति, लोकराज राई, अनुप दास, तेजु श्रेष्ठलगायतले साथ दिएका थिए ।

कार्यक्रममा मनोज जोशी, मदन थापा, रेखा श्रेष्ठ, शवनम सिलवाल, माया थापा, सुशीला थापा, गीता थापा, बिना विक, सनम खड्गी, नवीन गुरुङ, मनीष कार्की, सिद्धार्थ सिलवाल, अक्कलबहादुर पाख्रिन, सुरभी मगर, सुमिना मगर, बाबु सेन्चुरी, केशरबहादुर पुर्जालगायत नृत्य कलाकारले सोरठी, साकेला, धिमे, झाँगड, सखिया, ट्याकुरी, छलियाजस्ता मौलिक नृत्य प्रस्तुत गरी सांस्कृतिक विविधताको सन्देश दिए । नृत्यको संयोजन शारदा सिलवाल र केशवराज राईले गरेका थिए ।

कमेन्ट गर्नुहोस्