‘आ बाट आमा २’मा मलिका

फिल्म । निर्देशक चन्द्र पन्तको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘आ बाट आमा २’मा अभिनेत्री मलिका महत अनुबन्धित भएकी छन् । निर्माण टिमले उनलाई फिल्मको मुख्य भूमिकाका लागि अनुबन्ध गरेको हो । मलिका अनुबन्धित भएसँगै फिल्मका तीनै अभिनेत्रीको टुंगो लागेको छ । यसअघि अभिनेत्री रिश्ता गुरुङ र निकिता आचार्य अनुबन्धित भइसकेका थिए । आइतबार निर्देशक तथा निर्माता पन्तले मलिकासँग औपचारिक सम्झौता गरेका हुन् ।

फिल्ममा अभिनेता पल शाह र मलिका महतको जोडी पुनः देख्न चाहने दर्शकको चर्चा भइरहेका बेला निर्माण टिमले मलिकालाई फिल्ममा भित्र्याएको हो । यद्यपि, उनी पल शाह वा आकाश श्रेष्ठमध्ये कसको जोडीका रूपमा प्रस्तुत हुनेछन् भन्ने विषय भने खुलाइएको छैन । फिल्ममा पल शाह, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित बिष्ट र नरेन खड्का यसअघि नै अनुबन्धित भइसकेका छन् ।

फिल्मको कथा तथा पटकथा निर्देशक पन्त स्वयंले लेखेका हुन् । छिटै छायांकनमा जाने तयारीमा रहेको फिल्म आगामी दसैंको अवसर पारेर असोज ३० गतेदेखि प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।

फिल्मको घोषणा भएसँगै केही अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन अधिकारसमेत बिक्री भइसकेको छ । निर्माण पक्षका अनुसार अमेरिका र क्यानडाको प्रदर्शन अधिकार वितरक डोको फिल्म्सले खरिद गरिसकेको छ । नेपालमा फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ ।

आर्या इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मका प्रोडक्सन म्यानेजर करणसिंह रसाईली रहेका छन् । गत वर्ष प्रदर्शनमा आएको सफल फिल्म ‘आ बाट आमा’को यो सिक्वेल हो । उक्त फिल्मले घरेलु बक्स अफिसमा झन्डै १४ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । पहिलो भागको कथालाई निरन्तरता दिँदै निर्देशक पन्तले सिक्वेल निर्माण गर्न लागेका हुन् ।

कमेन्ट गर्नुहोस्