लभस्टोरी फिल्मको तयारीमा मिलन

फिल्म । निर्देशक मिलन चाम्सले आगामी फिल्म लभस्टोरी विधामा रहेर निर्देशन गर्ने भएका छन् । सोमबार आफ्नो निर्देशनमा तयार हुने एघारौँ फिल्मको घोषणा गर्दै निर्देशक चाम्सले आगामी अगस्टमा छायांकन हुने जानकारी दिए ।

उनले भने,‘हामी स्क्रीप्टकै काममा छौँ । यो फिल्म प्रेम कथानक हुनेछ । यसमा युवापुस्ताको प्रेमलाई दर्शकले देख्न पाउनु हुनेछ ।’ निर्देशक चाम्सले पछिल्लो समय ‘वार’ विधामा ‘गोर्खा वारियर’ र सोसल ड्रामा तथा वायोपिक ‘अञ्जिला’ निर्देशन गरेका छन् । ‘लिली बिली’ पश्चात उनले पूर्ण प्रेम कथानक फिल्म निर्देशन गर्न लागेका हुन् । उनले यसबारे विस्तृत जानकारी आउँदो साता ३ फेब्रुअरी दिउँसो १ बजे दिने बताए ।

गोर्खा फिल्मस र चाम्स इन्टरटेन्मेन्टको संयुक्त व्यानरमा निर्माण हुने फिल्मलाई राजीव थापाले लेखिरहेका छन् । यो फिल्म नेपाल र लन्डनमा छायांकन हुनेछ ।

कमेन्ट गर्नुहोस्