गीतालाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार-२०८१’ प्रदान

फिल्म । पत्रकार गीता अधिकारीलाई सम्मान तथा पुरस्कृत गरिएको छ । उनलाई चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवसको अवसर पारेर बिहीबार एक विशेष समारोहबीच नगद राशीसहित ‘नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार-२०८१’ अर्पण गरेको हो । उक्त पुरस्कारलाई नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले आफ्नो बुबाको नाममा स्थापना गरेका हुन् ।

दुई दशकदेखि चलचित्र पत्रकारितामा सक्रिय अधिकारी संघको पूर्वकेन्द्रीय उपाध्यक्षसमेत भइसकेकी छिन् । मिलाप फाउण्डेशनकी अध्यक्षसँगै गीतकारसमेत रहेकी अधिकारीको हालै ‘मैले पढेका ५१ पुस्तक’ कृति पनि पाठकमाझ आएको छ । उनी मिलाप राष्ट्रिय दैनिकको कार्यकारी सम्पादक र हिमालय टाइम्स राष्ट्रिय दैनिकमा कार्यरत छिन् ।

सो अवसरमा ‘चलचित्र पत्रकारिता पुरस्कार–२०८१’ पत्रकार बालकृष्ण अधिकारीलाई प्रदान गरिएको थियो । यस्तै, संघले प्रदान गर्ने कलाकर्मी सम्मान २०८१ गायक तथा कलाकार कोशिस क्षेत्री र कलाकार ध्रुव न्यौपानेलाई प्रदान गरिएको थियो । मकवानपुरमा जन्मिएर जिल्लाको नाम राख्दै राष्ट्रिय स्तरको कलाक्षेत्रमा सक्रिय रहेकाहरूलाई यस विधामा सम्मान गर्दै आइरहेको संघका अध्यक्ष कपिल खड्काले जानकारी दिए । संघका अध्यक्ष खड्काको सभाध्यक्षतमा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता थियो ।

कमेन्ट गर्नुहोस्