फिल्म । चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले बिरामी तथा दिवंगत भएका चलचित्रकर्मीहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ । कोषले तीन जना बिरामी र एक जना मृतक चलचित्रकर्मीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको बोर्डका अध्यक्ष दिनेश डिसीले जानकारी दिएका छन् ।
‘हामी फिल्मकर्मीको सुख दु:खमा साथ छौँ । हामीले गरेको सहयोगले थोरै भएपनि अपनत्व महसुस गराएको छ’, अध्यक्ष डिसीले भने । उहाँका अनुसार मस्तिष्कमा रक्तस्राव भई ग्रिनसिटी अस्पतालमा उपचाररत निर्देशक सन्तोष ढकालको परिवारलाई १ लाख रुपैयाँ, दिवंगत प्राविधिक श्रीकृष्ण तिमल्सिनाको काजक्रियाका लागि उनको परिवारलाई ५० हजार रुपैयाँ, खुट्टा भाँचिएर आराम गरिरहेका कलाकार गोकुल सुवेदीलाई ४० हजार रुपैयाँ र सिरोसिस रोगबाट पीडित प्राविधिक उमेश श्रेष्ठको परिवारलाई १ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइएको छ।
बोर्डका अध्यक्ष डीसी, कल्याणकारी कोषकी अध्यक्ष वसुन्धरा भुसाल, सदस्यहरु मोहन निरौला र पुष्कर लामासहितको टोलीले बिरामीहरुको निवास, अस्पताल र मृतकको क्रियापुत्री भवनमा पुगेर उक्त आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।










