फिल्म । भारतीय फिल्म ‘हनुमान अंश’ले भारतीय बक्स अफिसमा ऐतिहासिक सफलता हासिल गरेको छ । प्रदर्शनको ४४औँ दिन शनिबार ९ करोड ७५ लाख भारतीय रुपैयाँको शुद्ध कमाइ गरेसँगै फिल्मले भारतमा ३०० करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको हो ।
फिल्मको भारतमा कुल कमाइ ३ सय ४ करोड ८० लाख भारतीय रुपैयाँ पुगेको छ । यस्तै, विश्वव्यापी रूपमा फिल्मले ३ सय २९ करोड ३० लाख भारतीय रुपैयाँ कमाइ गरेको जनाइएको छ।
सन्त नीब करोरी बाबाको जीवनबाट प्रेरित फिल्मले प्रदर्शनको सातौँ सातासम्म पनि भारतीय हलमा राम्रो प्रभाव कायम राखेको छ। फिल्मको निर्देशन ४२ वर्षीय विशाल चतुर्वेदीले गरेका हुन्। चिकित्सकबाट निर्देशक बनेका विशालको यो दोस्रो फिल्म हो।
यसअघि उनले सन् २०१२ मा ‘वार्निङ’ नामक फिल्म निर्देशन गरेका थिए। उनले विभिन्न टेलिभिजन शृङ्खला तथा फिल्ममा संवाद लेखकका रूपमा समेत काम गरिसकेका छन्। फिल्ममा नीब करोरी बाबाको मुख्य भूमिका अभिनेता शोभिनव सत्याले निभाएका छन् ।










