‘अन्तिम साँझ’ लोकार्पण

साहित्य । बेलायतमा बसोबास गर्दै युद्ध साहित्यमार्फत आफ्नो पहिचान बनाएका स्रष्टा केदार सङ्केतको नवीनतम कथासङ्ग्रह ‘अन्तिम साँझ’ लोकार्पण गरिएको छ । मिलाप पब्लिकेशनको आयोजनामा तथा अनेसास दर्पणको संयोजनमा आइतबार ललितपुरको कुमारीपाटीस्थित ऐला लाउन्जमा आयोजित विशेष कार्यक्रममा महाकाव्यकार खेमनाथ दाहालको सभापतित्वमा उक्त कृतिको लोकार्पण गरिएको हो।

कार्यक्रममा अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सहजीकरण मिलाप मासिककी कार्यकारी सम्पादक गीता अधिकारीले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल स्रष्टा समाजका अध्यक्ष वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले हल्ला र प्रचारका आधारमा चर्चित बनेका कतिपय साहित्यकारहरूको अस्तित्व दीर्घकालीन नहुने उल्लेख गर्नुभयो। काव्यिक स्वधर्म र सिर्जनशील चिन्तनमा निरन्तर लागिरहने स्रष्टाहरूको भविष्य सुनिश्चित हुने उहाँको भनाइ थियो। पुरस्कार, प्रतियोगिता र प्रचारमा निर्भर भएर स्थापित हुन चाहने सर्जकहरूको भीडमा केदार सङ्केत फरक देखिएको उहाँले बताउनुभयो।

कृतिमाथि समीक्षा गर्दै साहित्यकार प्रगति राईले केदार सङ्केतका कथाहरू फरक धारमा आएको उल्लेख गर्दै यथार्थवाद र प्रयोगवादलाई सन्तुलित रूपमा समेटिएको बताउनुभयो। कथाहरू कृतिका रूपमा आइपुग्दा पर्याप्त परिमार्जन र परिष्कार गरिएको उल्लेख गर्दै उहाँले आगामी लेखन अझ सशक्त होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।

कीर्तिमानी सङ्गीतकार तथा उपन्यासकार सन्तोष श्रेष्ठले सन्तान जन्मिनु र कृति जन्मिनु उस्तै भएको टिप्पणी गर्दै आकर्षक कलेवर र साजसज्जासहित प्रकाशित पुस्तकमा मूर्धन्य साहित्यकारहरूको संलग्नताले कृतिको स्तरीयता पुष्टि हुने बताउनुभयो। केदार सङ्केतका कलात्मक कथा नेपाली साहित्यको समृद्धिमा महत्वपूर्ण योगदान गर्ने उहाँको विश्वास थियो।

सभापति खेमनाथ दाहालले प्रस्तुत कथाहरू नयाँ शैलीमा लेखिएको उल्लेख गर्दै ती कथाबाट आफू अत्यन्त प्रभावित भएको गहन समीक्षात्मक मन्तव्य राख्नुभएको थियो।

कृतिकार केदार सङ्केत भौतिक रूपमा उपस्थित हुन नसके पनि भिडियो कलमार्फत आफ्नो मन्तव्य व्यक्त गर्नुभयो। सिर्जनाका माध्यमबाट आफ्ना कुरा व्यक्त गर्ने भएकाले धेरै बोलिरहनु नपर्ने उहाँको भनाइ थियो। पाठकको प्रतिक्रिया नै लेखकका लागि सबैभन्दा ठूलो पुरस्कार भएको उल्लेख गर्दै प्राप्त प्रतिक्रियाका आधारमा आगामी लेखन परिमार्जन गर्दै अघि बढ्ने उहाँले बताउनुभयो।

सो अवसरमा रचना साहित्यिक द्वैमासिक पत्रिकाका सम्पादक प्रतीक घिमिरे, साहित्यकार तथा सुनुवार सेवा समाजका उत्तम कातिजलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा गणेश थापा, विष्णुबहादुर बस्नेत, उमेश शर्मा, उत्तमकुमार सुनुवार, सानु श्रेष्ठ, सोजुहाङ किराँत, गंगाप्रसाद भेटवाल, जयराम बिडारी, अक्कल कुँवरलगायत लेखक तथा साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रम मिलाप मासिकका सम्पादक कृष्ण भुसालको मन्तव्यसहित सम्पन्न भएको थियो।

कमेन्ट गर्नुहोस्