यसकारण ‘पिताम्बर’ मा हिंसक बन्न तयार भए प्रदीप

फिल्म । प्रदीप खड्का प्राय रोमान्टिक फिल्ममा देखिने गर्छन् । दर्शकले उनलाई ‘प्रेम’ उपनाम पनि दिएका छन् । किनकि उनलाई अभिनयमा स्थापित गर्ने फिल्म ‘प्रेम गीत’ हो । त्यसकारण प्रदीपलाई रोमान्टिक फिल्ममा सोच्ने र देख्ने धेरै छन् । यद्यपि उनले आफूलाई प्रकाश’ र ‘पुजार सार्की’ मा फरक रूपमा प्रस्तुत गरे ।

आफ्नो स्टारडमको छायाँ भन्दा बाहिर निस्किएर उनले आफ्नो अभिनय देखाए । उनको स्टारबाट कलाकार बन्ने यात्रालाई धेरैले तारिफ गरे । त्यसपछि उनले पात्रलाई देख्ने सोचमा परिवर्तन आएको बताए ।

‘पहिला मलाई युनिफर्म लगाएर क्यारेक्टर निर्वाह गर्न सकिन्छ भन्ने लाग्थ्यो तर मेरो सोच अहिले परिवर्तन भएको छ । भारतीय फिल्ममा एउटा डाक्टरले रक्सी खाएर अप्रेशन गरेको हामी स्वीकार्न सक्छौँ भने क्यारेक्टर भनेको युनिफर्ममा सिमित होइन भन्ने आभाष भयो’, प्रदीपले भने ।

उनले ‘पिताम्बर’ मा एक्सन गरेका छन् । संवत पहिलोपटक प्रदीपले यस किसिमको हिंसक भूमिका निर्वाह गरेका हुन् । यसको कारण फिल्मको निर्माण पक्ष र निर्देशक कृषा चौलागाईं रहेको उनले बताए ।

‘जब मलाई विश्वास गरेर मलाई फिल्ममा अभिनय गराउन निर्देशक विश्वस्त हुनुहुन्छ भने मैले किन नगर्ने भन्ने लाग्यो । उहाँको लगनशीलता र समपर्ण देखेर मैले पनि सक्दो मेहनत गर्ने भनेर काम गरें । फाइट सिके र आफ्नो व्यक्तित्व अनुसार प्रस्तुत भएको छु’, उनले भने ।

उनले आफ्नो र परिवार रक्षाका लागि एक सामान्य व्यक्तिले गर्न सक्ने प्रतिकारलाई दर्शकले फिल्ममा हेर्न पाउने बताए । नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’को एक्सनले भरिपूर्ण छ ।

विशाल चौलागाई निर्माता रहेको फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ ।

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको व्यानरमा निर्माण भएको फिल्ममा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन र ट्रेलर, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व छ । फिल्म आरआर फिल्मस्ले वितरण गर्दैछ ।

कमेन्ट गर्नुहोस्