फिल्म । दिनेश राउतको निर्देशनमा तयार हुने फिल्म ‘महाभोज’ को मुहूर्त पूजा गरिएको छ । मङ्गलवार बिहान काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा फिल्मका कास्ट एण्ड क्रिउले पुजा गर्दै फिल्मबारे जानकारी दिएका छन् । निर्देशक राउतले ‘महाभोज’ सर्वसाधारणको जीवन र भरोसामाथि खेलबाड गर्नेहरू विरुद्धको विद्रोही अभियान रहेको बताए ।
उनले भने,‘ महाभोजको कथा समाजमा हुने विश्वासघात र भ्रष्टाचार विरुद्धको हो । देशमा भइरहेका प्रणालीविहीन कामहरूको विरुद्ध जब नागरिकको सहनशीलताको बाँध टुट्छ, समाजले कस्तो रूप लिन्छ भन्ने कथाले देखाउने छ ।’
फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतको अभिनय रहनेछ । पोखरा आसपासका क्षेत्रमा करिब ४५ दिन छायाङ्कन हुने फिल्म क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको ब्यानरमा निर्माण हुँदैछ ।
हिमाल कडरिया निर्माता रहेको फिल्ममा कार्यकारी निर्माता किरण नेपाली र सुदिप ढकाल रहेका छन् । यसमा विकास सुवेदीको लेखन, राजेश श्रेष्ठको छायांकन, नेमिष श्रेष्ठको सम्पादन, उत्तम न्यौपानेको साउण्ड डिजाइन रहनेछ ।

रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर हुन् भने मनोज जोशी निर्माण नियन्त्रक र सहायक निर्माण नियन्त्रक विदुर मानन्धर हुन् । साजन बस्ताकोटीको कला निर्देशन, रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टको पब्लिसिटी डिजाइन, समरा जोशीको मेकअप तथा सरस्वती श्रेष्ठको केश स्टाइलिङ तथा आशिष पौडेलको कस्ट्युम डिजाइन रहेको छ ।