सङ्गीत । साङ्गीतिक सर्ट फिल्म ‘तिमी एक रहस्य’ मा समावेश पहिलो गीत ‘नौ डाँडा काटेर’ सार्वजनिक गरिएको छ । आर.बी. पुनको अवधारणामा तयार भएको गीतमा प्रताप दासको स्वर रहेको छ । गीतका शब्द प्रताप शाहीले लेखेका हुन् भने संगीत सुवास पुन मगरले दिएका छन् । गीतको भिडियोमा सामाजिक तथा पारिवारिक कथालाई मार्मिक र कलात्मक रूपमा प्रस्तुत गरिएको छ ।
विशेषगरी सामाजिक सञ्जाल फेसबुकबाट सुरु हुने प्रेम, पारिवारिक हैसियत तथा वर्गीय अन्तर र सहर गाउँको परिवेशलाई अर्थपूर्ण संवादसहित जीवन्त ढंगले देखाइएको छ । उत्तम हुमागाईँको छायांकन रहेको भिडियोको निर्देशन तथा सम्पादन हरि हुमागाईँले गरेका हुन् । भिडियोमा आशीर्वाद क्षेत्री, अश्विनी शाही, राजाराम पौडेल, विशाल पहाडी, सङ्गी अधिकारी पोखरेल, सृष्टि घिमिरे र चेतना काफ्ले लगायत कलाकारको अभिनय रहेको छ ।
नर्वेमा बसोबास गर्ने नेपाली युवाहरूको संस्था धड्कन नेपाल ग्रुपले गीत निर्माण गरेको हो । निर्माण टिमले मनोरञ्जनसँगै सामाजिक सेवामा पनि योगदान पुर्याउने उद्देश्य राखेको जनाएको छ । गीत सार्वजनिक गर्नुअघि निर्माण टोलीले सहारा केयर सेन्टर पुगेर त्यहाँ आश्रित वृद्धवृद्धालाई आर्थिक सहयोग हस्तान्तरण गरेको थियो । सहयोग कार्यक्रममा निर्देशक हरि हुमागाईँ तथा कलाकार आशीर्वाद क्षेत्री र चेतना काफ्ले लगायतको उपस्थिति रहेको थियो ।












