‘मितज्यू’ नेपालसँगै डायस्पोरामा प्रदर्शन हुने

फिल्म । जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको नेपाली फिल्म ‘मितज्यू’ रिलिजअघि नै विदेशमा बलियो उपस्थिति जनाएको छ । निर्माण पक्षका अनुसार फिल्मको प्रदर्शन अधिकार हङकङ, जापान, दक्षिण कोरिया, माल्टा, सिंगापुर र पोल्याण्ड गरी ६ देशमा बिक्री भइसकेको छ।

निर्माता जनक घर्ती मगरका अनुसार हङकङका लागि पाथिभरा इन्टरटेनमेन्ट, जापानका लागि वाउ इन्टरटेनमेन्ट, दक्षिण कोरियाका लागि नेपाल मगर संघ, माल्टाका लागि नेप फाइभ इन्टरटेनमेन्ट र पोल्याण्डका लागि सोल्टी इभेन्टले प्रदर्शन अधिकार खरिद गरेका छन्। अन्य देशहरूसँग पनि प्रदर्शनबारे छलफल जारी रहेको उनले जानकारी दिए।

फिल्मको प्रदर्शन मिति नजिकिँदै जाँदा दर्शकमाझ यसको चासो बढ्दो छ। फिल्ममा सौगात मल्ल, दयाहाङ राई र अन्तर्राष्ट्रिय रूपमा चर्चित नृत्यांगना तेरिया फौजा मगरको अभिनय रहेको छ। तेरियाको यो डेब्यु फिल्म भएकाले पनि सुरुदेखि नै फिल्म चर्चामा छ।

फिल्मका सार्वजनिक गीतहरूले पनि सकारात्मक प्रतिक्रिया पाएका छन्। ‘गैराघरे काँइली’ र ‘भुनभुन माहुरी’ गीत दर्शकमाझ लोकप्रिय बन्दै गएका छन्। गीत र टिजरले छोटो समयमै राम्रो चर्चा बटुल्न सफल भएका छन्।

ग्रामीण परिवेशमा आधारित फिल्ममा दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरका साथै पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई तथा खड्गबहादुर पुन मगर (खबपु) लगायत कलाकारहरूको अभिनय रहेको छ।

यसै फिल्ममार्फत तेरिया मगरले अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन्। साथै, फिल्मको एक गीतमा अभिनेत्री रुषा न्यौपानेको विशेष नृत्य पनि समावेश गरिएको छ।

अनिल बुढा मगरको निर्देशनमा बनेको फिल्मका निर्माता जनक घर्ती मगर हुन्। लोकेश बज्राचार्यको सम्पादन, शिशिर बिशंखेको छायांकन तथा श्रीकृष्ण बम मल्लको संगीत रहेको छ। गीतमा श्रीकृष्ण बम मल्ल, मेलिना राई र लक्ष्मी मल्लको स्वर रहेको छ भने मुख्य सहायक निर्देशकका रूपमा फिरोज खड्का रहेका छन्।

आरआर फिल्म्सले वितरण गर्ने यस फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ। फिल्म आगामी जेठ ८ गतेदेखि नेपालभर प्रदर्शनमा आउने तयारीमा छ।

कमेन्ट गर्नुहोस्