फिल्म । नयाँ फिल्म ‘गौथली’ निर्माण भएको छ । नेपालका प्रतिष्ठित चिकित्सक डा. भोला रिजालको कथामा करिब दुई दशकअघि निर्माण भई ५१औँ दिन मनाउन सफल पुरानो ‘गौथली’को स्मरण दिलाउँदै यसपटक नयाँ संस्करण दर्शकमाझ आउन लागेको हो । यो फिल्मलाई डा. कपिल रिजालले निर्देशन गरेका हुन् । यसअघि उनले अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई लिएर ‘ह्यारीकी प्यारी’ निर्देशन गरेका थिए।
निर्माण पक्षले वितरण टुंग्याएसँगै फिल्मको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति आगामी साउन १ गते तय गरेको जनाएको छ। फिल्ममा अरुण क्षेत्री र सिम्रन खड्काको जोडी मुख्य भूमिकामा देखिनेछ। साथै, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्। वरिष्ठ चिकित्सक डा. भोला रिजालको कथामा आधारित फिल्मको पटकथा तथा संवाद निर्देशक डा. कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले तयार पारेका हुन्।
निर्माण पक्षका अनुसार ‘गौथली’ शब्दले घर, परिवार र आपसी सामीप्यताको प्रतीकात्मक अर्थ बोकेको छ, जुन फिल्मको मुख्य भाव पनि हो। भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मका कार्यकारी निर्माता सरला रिजाल हुन्। निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताका रूपमा छन्।
फिल्ममा शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको छ भने एलिस कार्कीले पृष्ठभूमि संगीत तयार पारेका छन्। हरि हुमागाईंको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्ममा गिरिराज घिमिरे मुख्य सहायक निर्देशकका रूपमा छन्। आर्यन अधिकारी र बुद्धि नेपाली सहायक निर्देशक, मुकेश शाह ध्वनि मिश्रण, राजेन्द्र मोक्तान रङ संयोजन तथा रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी रहेको छ।
फिल्मलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् भने डिजिटल अधिकार ‘ओएसआर डिजिटल’सँग रहेको छ।











