फिल्म । नेपाली फिल्म ‘बा : एक योद्धा’को आधिकारिक प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण पक्षका अनुसार फिल्म आगामी भदौ १९ गतेदेखि देशभरका सिनेमाघरमा एकसाथ प्रदर्शनमा आउनेछ । हरि लम्सालको निर्देशनमा निर्माण भएको उक्त फिल्म वितरकहरूसँगको सहमति र सम्झौताअनुसार कुशे औँसी (बुबाको मुख हेर्ने दिन)को पूर्वसन्ध्यामा प्रदर्शनमा ल्याउन लागिएको निर्माण पक्षले जनाएको छ ।
नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीत दिइसकेका चर्चित संगीतकार लम्सालले यसै फिल्ममार्फत निर्देशनमा डेब्यु गरेका हुन् । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मको कथा र पटकथा स्वयं लम्सालले लेखेका छन् । संगीतमार्फत छुट्टै पहिचान बनाइसकेका लम्सालको निर्देशकीय क्षमता कस्तो रहनेछ भन्नेबारे दर्शकमाझ चासो र कौतुहलता देखिएको छ ।
फिल्मका निर्माता वसन्त लम्साल हुन्। गायक तथा सर्जकसमेत रहेका उनले यसअघि अभिनेता विपिन कार्कीलाई लिएर फिल्म ‘कर्मा’ निर्माण गरेका थिए। फिल्मले नेपाली समाजको एक मार्मिक पक्षलाई उजागर गर्ने लक्ष्य राखेको छ । गत चैत ९ गतेदेखि छायांकन सुरु गरिएको फिल्ममा सुरुवाती चरणदेखि नै कलाकारहरूको नाम गोप्य राखिएको थियो। केही दिनअघि भने छायांकन सेटबाट अभिनेत्री झरना थापा, उनकी छोरी सुहाना थापा र अभिनेता दिव्यदेव पन्त मुख्य भूमिकामा रहेको जानकारी सार्वजनिक गरिएको थियो ।
झरना र सुहानाले पहिलो पटक एउटै फिल्ममा सहअभिनय गर्न लागेका हुन्। वास्तविक जीवनमा आमा–छोरी रहेका उनीहरू फिल्ममा पनि सोही सम्बन्धमा देखिनेछन्। फिल्मको शीर्षकले यसलाई शुद्ध सामाजिक कथावस्तुमा आधारित बनाएको संकेत गर्छ। नेपाली परिवारमा बाबुको महत्त्व, सन्तानको भविष्यका लागि उनले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीलाई ‘योद्धा’का रूपमा चित्रण गरिएको छ। ग्रामीण तथा सहरी दुवै परिवेशमा एक बाबुले बोक्ने जिम्मेवारीलाई फिल्मले पर्दामा उतार्नेछ।
फिल्ममा शिवराम श्रेष्ठको छायांकन रहेको छ। उनले यसअघि ‘पूर्ण बहादुरको सारङ्गी’, ‘बोक्सीको घर’ र ‘परान’जस्ता चर्चित फिल्ममा काम गरिसकेका छन्।फिल्म ‘बा : एक योद्धा’ भिजुअलका हिसाबले पनि उत्कृष्ट हुने अपेक्षा गरिएको छ। मुख्य सहायक निर्देशकका रूपमा तारा नाथ न्यौपाने रहेका छन्। आर्टिस्टिक इन्टरटेनमेन्टले यसअघि पनि स्तरीय परियोजनामा काम गर्दै आएकाले यस फिल्मबाट दर्शकले भावनात्मक तथा सामाजिक विषयवस्तुमा आधारित मनोरञ्जन प्राप्त गर्ने अपेक्षा गरिएको छ।











