‘परालको आगो’ आजदेखि प्रदर्शनमा

फिल्म । नेपाली फिल्म ‘परालको आगो’ आज शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ । बिहानैदेखि विभिन्न हलहरूमा दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ भने धेरैजसो हल भरिभराउ रहेको जनाइएको छ । फिल्मले देशभर करिब डेढ सयभन्दा बढी शो पाएको छ । दर्शकको उत्साहलाई ध्यानमा राख्दै हल सञ्चालकहरूले फिल्मलाई उच्च संख्यामा शो दिएका हुन्। फिल्मका निर्माता सुशील पोखरेलका अनुसार अधिकांश हल ‘हाउसफुल’ रहेका छन्।

फिल्मको निर्माण टिम पनि शुक्रबार बिहानैदेखि विभिन्न हलहरूमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गरिरहेको छ। १ सय ३५ मिनेट लामो यस फिल्मले ‘युनिभर्सल सर्टिफिकेट’ प्राप्त गरेको छ। फिल्म प्रसिद्ध साहित्यकार गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’मा आधारित रहेकाले पनि दर्शकको चासो बढेको देखिन्छ।

फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने तथा बाल कलाकार मञ्जिला बानियाँ लगायतका कलाकारहरूको अभिनय रहेको छ।

हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस फिल्ममा लगानी सुशील पोखरेलले गरेका हुन्। फिल्मको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन् भने भिएफएक्स समीर मिया र सत्यम रानाले गरेका छन्।

त्यसैगरी, फिल्मको टिजर तथा ट्रेलर सम्पादन साहिल खानले गरेका हुन्। पाश्र्व संगीत किरण तुलाधरको रहेको छ भने संगीतमा शान्ति ठटाल, सत्य–स्वरूप आचार्य र प्रकाश सपुतको योगदान रहेको छ। फिल्मका गीतका शब्द मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतले लेखेका छन्।

सुलभी पोखरेल र सत्यम पोखरेल निर्माता रहेको यस फिल्मको वितरण नेपालभर आरआर फिल्म्सले गर्दैछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ।

कमेन्ट गर्नुहोस्