फिल्म । आज असोज १ गते‘राष्ट्रिय चलचित्र दिवस’ । तत्कालिन चलचित्र विकास बोर्डको अध्यक्ष गणेश भण्डारीको सक्रियतामा २०६८ साल देखि असोज १ लाई दिवसको रुपमा मनाउन थालिएको हो । नेपालमा बनेको पहिलो चलचित्र ‘आमा’को २०२२ असोज २२ गते रिलिज मितिको सन्दर्भलाई जोड्दै असोज १ गतेलाई ‘राष्ट्रिय चलचित्र दिवस’ मनाउन सुरु गरिएको हो । वि.सं. २००७ सालमा डीबी परियारको निर्देशनमा चलचित्र ‘सत्य हरिश्चन्द्र’ निर्माण भएको थियो । भारतको कलकत्तामा यो चलचित्र निर्माण भए पनि नेपालमै निर्माण भएको चलचित्र ‘आमा’लाई नेपालको पहिलो चलचित्र मानिएको हो ।
चलचित्रको विकास र यसको इतिहासको सम्झना गर्दै मनाईने दिन असोज १ भएता पनि पछिल्लो समय यो दिवसमै सिमित भइरहेको छ । ‘राष्ट्रिय चलचित्र दिवस’ पर्वको रुपमा घोषणा गरिएता पनि अहिलेसम्म यसको प्रभास आम दर्शकमा परेको पाइन्दैन । नेपाली फिल्म र यससँग जोडिएको गतिविधि नहुने भएकाले पनि यसको महत्व दर्सिएको छैन । पछिल्लो दुई वर्ष कोरोना भाइरस महामारीको सामना गरेको चलचित्र क्षेत्र अहिले पनि उद्योगको रुपमा अगाडी बढ्न सकेको छैन ।













