फिल्म । गिनिज बुक अफ वर्ल्ड रेकर्डमा संसारकै कान्छा फिल्म निर्देशकका रूपमा नाम लेखाएका सौगात विष्ट निर्देशित लघु फिल्म ‘भूवा’ को छायाङ्कन सम्पन्न भएको छ । ‘डान्स फिभर’ को प्रस्तुति रहेको यो फिल्मलाई सम्झना पोखरेलले निर्माण गरेकी हुन् ।
फिल्मका मुख्य कलाकार गजित विष्टले ‘भूवा’ शीर्षकले सांस्कृतिक र पारिवारिक विषयवस्तु समेट्ने बताएका छन् । फिल्ममा उनी कथाको मुख्य पात्रको रूपमा प्रस्तुत छन् । निर्माण पक्षका अनुसार, यो लघु फिल्मले पारिवारिक भावना र सामाजिक चेतनालाई समेट्ने अपेक्षा गरिएको छ । अत्यन्तै कम उमेरमा निर्देशनमा पाइला टेकेका सौगातले यस फिल्ममार्फत फेरि एकपटक आफ्नो सिर्जनात्मक क्षमताको परिचय दिने विश्वास निर्माण टिमले व्यक्त गरेको छ ।
‘भूवा’ को कथा र पटकथा सङ्गम विष्टले लेखेका हुन् । यसको छायाङ्कन नवराज उप्रेतीले गरेका छन् भने प्रवीण भट्टको सम्पादन रहेको छ । बिक्रम गौतमले मेकअप गरेका छन् । फिल्मको गीतमा चन्द्रमणि भट्टराईले शब्द रचना गरेका छन् भने राजेन्द्र बजगाईंले सङ्गीत भरेका छन् । सारिका घिमिरे र विषम आचार्यको स्वरमा रहेको गीतमा विषम आचार्यकै ब्याकग्राउन्ड म्युजिक सुन्न सकिनेछ ।










