प्रकाशसँग अनुरोधको सहकार्य : पहिलो कन्सर्टदेखि पहिलो फिल्म निर्माणसम्म

फिल्म । गायक तथा अभिनेता प्रकाश सपूतको पहिलो निर्देशकीय फिल्म ‘वसन्त’ आउँदो शुक्रबार अर्थात् चैत २२ गतेदेखि प्रदर्शन हुँदैछ । गीतसङ्गीतमार्फत आफ्नो छुटै पहिचान बनाएका प्रकाशले यस अगाडि अभिनय गरेका दुई फिल्म ‘परदेशी २’ सफल र ‘पूर्णबहादुरको सारंगी’ सर्वकालीन हिट भईसकेको छ । अर्थात् प्रकाश गीतसङ्गीतसँगै अभिनेताको रुपमा समेत सफल छन् ।

उनले पहिलो निर्देशकीय फिल्ममा आफ्नो जीवन, भोगाई र अनुभवलाई समेटेको बताएका छन् । उनले यो कथालाई आफ्नै शैलीमा भन्न निर्देशक बनेको बताएका छन् । यसकारण उनका लागि यो खास छ । उनले सोही अनुसार निर्माणमा सहकार्य पनि गरेका छन् । प्रकाशलाई फिल्म बनाउन अन्य निर्माताको आवश्यकता पर्दैन, तर उनले केही नामसँग सहकार्य गरेका छन् । ती मध्ये एक हुन्, अनुरोध भट्टराई ।

अस्ट्रेलियामा बसोबास गर्ने अनुरोध पेसाले बिजनेस म्यान हुन् । अध्यनका लागि अस्ट्रेलिया पुगेका अनुरोध अहिले त्यहाँ सामाजिक कार्यसँगै अन्य विविध काममा व्यस्त छन् । अनुरोध र प्रकाशको पहिलो भेट सन् २०१७ मा भएको थियो । त्यसबेला प्रकाश आफ्नो साङ्गगीतिक उडान भर्न तयार थिए । तर, उनलाई साथ दिने निकै कम । सोही क्रममा एक दिन अनुरोध र प्रकाशको भेट भयो ।

‘म रेस्टुरेन्ट व्यवसायमा भएकाले नेपाल आएको बेला विभिन्न ठाउँमा पुगेर खानेकुराको टेस्ट गर्ने गरेको छु, सोही क्रममा म एक दोहोरी साँझमा पुग्दा प्रकाशजीसँग भेटघाट भयो । उहाँको गायन देखि म प्रभावित भएँ । त्यसकारण मैले उहाँसँग भेटघाट गरेर आगामी दिनमा सहकार्य गर्ने सकिने बताएको थिएँ’, अनुरोधले भने ।

उनी नेपालबाट अस्ट्रेलिया फर्किएपछि पुनः सामाजिक सञ्जालमार्फत प्रकाशसँग जोडिए । प्रकाशसँग निरन्तर संवाद भएपछि उनले एक साङ्गीतिक कार्यक्रमका लागि प्रकाशलाई अस्ट्रेलिया लगे । त्यो प्रकाशको पहिलो अन्तर्राष्ट्रिय साङ्गीतिक भ्रमण थियो । त्यहाँ प्रकाशले तीन प्रस्तुतिका दिएका थिए, जसले राम्रो चर्चा पायो । उनको आफ्नै गीत नभए पनि अरुको गीत गाएर मनोरञ्जन दिलाएका थिए ।

‘अस्ट्रेलिया जानु अगाडि प्रकाश भन्नेले अहिले प्रकाश जी भन्छन्, केही फेरिएको छ’, प्रकाशले नेपाल आएपछि भनेको संवाद अनुरोधलाई अहिले पनि याद छ । त्यसपछि साङ्गीतिक उडान भरेका प्रकाशले एकपछि अर्को सफलता पाइरहेका छन् । देशदेखि विदेशसम्म उनको गीत सुन्ने र उनको उठाएको विषयमा चर्चा गर्ने प्रसस्तै छन् ।

यहि कारण फिल्म बनाउने निर्णय लिएपछि प्रकाशले अनुरोधसँग पुनः सहकार्य गरे । प्रकाशले फिल्मको घोषणामै अनुरोधलाई धन्यवाद दिदै आफ्नो भेट सुनाएका थिए ।

‘मलाई दोहोरीमा सुनेर आफ्नै गीत नहुँदा पनि अस्ट्रेलिया लगेर प्रस्तुती दिने अवसर दिनुभयो, धन्यवाद पनि राम्रोसँग भन्न पाएको थिइन् । अहिले हामीले फिल्म निर्माणमा सहकार्य गरेका छौँ’, प्रकाशले भनेका थिए । यसरी अनुरोध प्रकाशको पहिलो अन्तर्राष्ट्रिय साङ्गीतिक भ्रमणदेखि पहिलो फिल्म निर्माणसम्म जोडिएका छन् । उनीहरूको सहकार्य भएको छ ।

चैत्र २२ गते शुक्रबारबाट प्रदर्शन हुने फिल्म ‘वसन्त’को अग्रीम टिकट बुकिङ र बिक्री खुला गरिएको छ । यसलाई मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले उच्च शो दिएका छन् । फिल्म ‘वसन्त’मा प्रकास सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ । यसका साथै केही परिचित अनुहारले यसका केमियो गरेका छन् । अर्थात् दर्शकले आफूले मन पराएका केही कलाकारलाई फिल्ममा देख्न पाउनेछन् ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा फिल्ममा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा फिल्मले भन्ने छ । फिल्मको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।

कमेन्ट गर्नुहोस्