फिल्म । निर्देशक अनिल योञ्जनले फिल्म ‘रुमानी रङ्ग’ को निर्देशनबाट हात झिकेका छन् । उनले केही समय अगाडि नै फिल्म निर्देशन नगर्ने निर्णय लिएर निर्माण पक्षसँग अलग भएता पनि विविध कारणले सार्वजनिक रुपमा ढिला जानकारी गराएको बताएका छन् ।
‘निर्माण टिमको संलग्नताले फिल्ममा प्रभाव पार्ने भएपछि मैले आफ्नो नाम फिर्ता लिएको हुँ । मेरो प्रयासका बाबजुद पनि फिल्म गुणस्तरीय बन्ने र सफल हुनेमा म विश्वत हुन् सकिन् । यो प्रोजेक्टबाट बाहिरिदा म निराश पनि छु, तर सबैको लागि राम्रो हो’, निर्देशक योञ्जनले भने ।
४ महिना अगाडि निर्माण घोषणा गरिएको यो फिल्मको छायांकन सुरू नभएपछि विभिन्न चर्चा सुरू भएको थियो । ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टर प्रालिको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा जीएम ठकुरी प्रस्तुतकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माताको रुपमा छन् ।
९० प्रतिशत छायांकन अष्ट्रेलिया र १० प्रतिशत छायांकन नेपालमा गर्ने भनिएको यो फिल्ममा नायक धिरज मगर र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले काम गर्ने जानकारी गराईएको छ । निर्देशक योञ्जन अगाडि यो प्रोजेक्टबाट अभिनेता आर्यन अधिकारी बाहिरिएका थिए ।