सङ्गीत । गत शनिबार प्रणय दिवसको अवसर पारेर होटल बज्रमा ‘हुलाकी ब्याण्ड’ को सांगीतिक प्रस्तुति गुञ्जिएको छ । बैठकले आयोजना गरेको कार्यक्रममा कविता, नाटकीय कथा कथन र प्रत्यक्ष संगीतको मिश्रण प्रस्तुत गर्दै साँझलाई प्रेमिल बनाउने प्रयास गरिएको थियो ।
इन्टिमेट थिममा सेट डिजाइन गरिएको माहोलमा दर्शकले कविता, कथा र संगीतलाई नजिकबाट अनुभव गर्ने अवसर पाएका थिए । हुलाकी ब्याण्डको प्रस्तुतीले रोमान्चक वातावरण सिर्जना गरेको थियो भने कवि साक्षी किरण भट्टराईका सशक्त शब्दसहित रेज्मी, रसिक रुसल (ठुले), मेरिना कटुवाल र पियुष पौडेलका कथाले कार्यक्रमलाई थप रोचक बनाएको थियो ।
यस्तै, दीपेन्द्र देवको नेतृत्वमा नाटक पनि मञ्चन गरिएको थियो । श्रीजल विक्रम शाही, सञ्जीव महर्जन, रोनिश जोशी र वर्षा भण्डारीको परिकल्पनामा तयार भएको कार्यक्रममा जीवन र प्रेमलाई नजिकबाट अनुभूत गराउने प्रयास गरिएको आयोजकले जनाएको छ ।










