फिल्म । पत्रकार तथा गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनको अवसर पारेर गीति एल्बम ‘भावस्पन्दन’ सार्वजनिक गर्नुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा आयोजित विशेष समारोहमा महाकाव्यकार खेमनाथ दाहालको सभापतित्वमा एल्बमको लोकार्पण गरिएको हो ।
कार्यक्रमको सहजीकरण गीतकार तथा चलचित्र विकास बोर्डका सदस्य गणेश सुवेदीले गर्नुभएको थियो भने मिलापका सम्पादक कृष्ण भुसालले स्वागत मन्तव्य राख्नुभएको थियो । उहाँले मिलाप पत्रिका विगत १७ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको उल्लेख गर्दै भाषा, साहित्य, कला र संस्कृतिसम्बन्धी समाचारलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो ।
वरिष्ठ पत्रकार तथा गीतकार डब्बु क्षेत्री ले गीतासँग लामो समयदेखि पत्रकारितामा सहकार्य रहेको स्मरण गर्दै पछिल्लो समय सिर्जनात्मक क्षेत्रमा देखिएको कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभावबारे चर्चा गर्नुभयो । कलाकार रोशनी केसीले गीताको निरन्तर सिर्जनात्मक सक्रियताको प्रशंसा गर्दै उहाँको लेखनप्रति आफू प्रशंसक रहेको बताउनुभयो ।
एल्बमकी स्रष्टा गीता अधिकारीले सानैदेखि गीतसंगीत र साहित्यप्रति गहिरो रुचि रहेको बताउँदै पछिल्लो समय जन्मदिनमा कृति सार्वजनिक गर्ने परम्परा सुरु गरेको जानकारी दिनुभयो । आउँदा दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।
एल्बम ‘भावस्पन्दन’ मा ‘यतै घमाइलो उतै घमाइलो’, ‘बजाउँदै चुरा’, ‘तीजैमा व्रत बसी’, ‘श्वास फेरि’, ‘छमछम नाचौँ’, ‘कति सजिलै’ र ‘माटोको सुगन्ध’ गरी सात गीत समावेश छन् । एल्बममा सारिका घिमिरे, योगेशकाजी, शान्तिश्री परियार, सविन सुवेदी र स्मिता प्रधानको स्वर रहेको छ भने संगीत दीपक शर्मा, योगेशकाजी, राजेन्द्र बजगाईं र जीवन शर्माले दिएका छन् । एल्बम लोकार्पण समारोहकै क्रममा केक काटेर गीता अधिकारीको जन्मोत्सव पनि मनाइएको थियो ।












