‘जाँदैछु नौ डाँडा काटेर’ले युट्युबमा राख्यो रेकर्ड

फिल्म । नेपाली फिल्म ‘आ बाट आमा’मा समावेश गीत ‘जाँदैछु नौ डाँडा काटेर’ले युट्युबमा दुई दिनमै २३ लाखभन्दा बढी भ्युज प्राप्त गर्दै रेकर्ड बनाएको छ । माघ १ गते सार्वजनिक गरिएको उक्त गीतले यो समाचार तयार पार्दासम्म २३ लाख १५ हजारभन्दा बढी भ्युज हासिल गरिसकेको छ ।

पछिल्लो समय फिल्मका गीतले अपेक्षाकृत दर्शक तान्न नसकिरहेको अवस्थामा यस गीतले छोटो समयमै उल्लेख्य दर्शक जुटाउन सफल हुनु सुखद मानिएको छ । गीतलाई हालसम्म ७६ हजारभन्दा बढीले मन पराएका छन् भने करिब २३ सय प्रतिक्रिया प्राप्त भएका छन् । रिलिज भएको पहिलो एक घण्टामै गीतले तीन लाखभन्दा बढी भ्युज कमाएको थियो ।

गीतमा आएका प्रतिक्रियामा दर्शकले भावनात्मक बनाएको भन्दै कलाकारहरूको अभिनयको प्रशंसा गरेका छन् । परदेशिन बाध्य पार्ने परिस्थितिको पीडा गीतको भावमा प्रस्तुत गरिएको छ । सोही भावलाई अभिनेता पल शाह, विपना थापा र प्रदीप रावतको जीवन्त अभिनयले थप प्रभावकारी बनाएको देखिन्छ ।

फिल्म ‘ह्रस्व–दीर्घ’ निर्देशन गरिसकेका निर्देशक चन्द्र पन्तले दर्शकको मनोभाव बुझेरै फिल्म निर्माण गरिएको बताए । उनका अनुसार अहिले देशमा देखिएको सामाजिक यथार्थलाई फिल्मको मुख्य विषयवस्तु बनाइएको छ, जसको प्रभाव गीतको भिडिओमा पनि स्पष्ट देख्न सकिन्छ ।

गीतको भिडिओमा पल शाह, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, उषा उप्रेती र सिम्रन पन्तलगायत कलाकारको अभिनय रहेको छ । किरण परियार र शान्तीश्री परियारको स्वर रहेको यस गीतमा शब्द र सङ्गीत अभि सुनारको छ । सुरिलो स्वर र भावपूर्ण शब्द–सङ्गीतले दर्शकलाई बाँधेर राखेको प्रतिक्रिया प्राप्त भइरहेको छ ।

आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्मको कथा तथा पटकथा निर्देशक चन्द्र पन्तले नै लेखेका हुन् । फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, रविन्द्र झा, गजित बिष्ट र बेगम नेपालीलगायत कलाकारको मुख्य भूमिका रहेको छ ।

फिल्ममा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको सङ्गीत रहेको छ भने शान्तीश्री परियार, रवि ओड, किरण परियार र यमन श्रेष्ठले गीत गाएका छन् । गीतको भिडिओमा गम्भीर बिष्ट र दिलिप ओखेडाको कोरियोग्राफी रहेको छ । नवराज उप्रेती डिओपी रहेको फिल्मका संवाद अभिमन्यु निरवीले लेखेका हुन्, जसमा अमर न्यौपाने, अभिमन्यु निरवी र चन्द्र पन्तको सहकार्य छ ।

फिल्ममा कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने करण सिंह रसाली कार्यकारी निर्माता हुन् । सम्पादन मिलन श्रेष्ठले गरेका छन् भने ट्रेलर र टिजर साहिल खानले निर्माण गरेका हुन् ।

फिल्मको नेपालभित्र प्रदर्शन अधिकार आरआर फिल्म्ससँग रहेको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलसँग छ । फिल्म ‘आ बाट आमा’ यही माघ १६ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ ।

कमेन्ट गर्नुहोस्