फिल्म । हास्य कलाकार दीपकप्रसाद आचार्य ‘काकु’ को निर्देशनमा बनेको फिल्म ‘परान’को ट्रेलर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत सार्वजनिक गरिएको छ । ट्रेलरले फिल्मको भावनात्मक पृष्ठभूमिलाई उजागर गर्दै परिवार, सम्बन्ध र संघर्षको कथालाई प्रस्तुत गरेको छ। यद्यपि, फिल्मको मूल द्वन्द्व ट्रेलरमा स्पष्ट रूपमा खुलाइएको छैन ।
ट्रेलरमा अभिनेता नीर शाहलाई केन्द्रमा राखिएको छ, जहाँ बाबुले छोराप्रति राखेको साथको अपेक्षा र त्यसमा आएको निराशालाई मार्मिक रूपमा देखाइएको छ । भावनात्मक दृश्य र सशक्त संवादले ट्रेलरलाई मर्मस्पर्शी बनाएको छ। पारिवारिक सम्बन्धका उतारचढावलाई उजागर गर्ने फिल्मको कथाले दर्शकमा एउटा गहिरो प्रश्न छोड्छ, ‘के सन्तानले बाबुआमाको इच्छा पूरा गर्न सक्छन्?’
आगामी कात्तिक १४ गतेबाट प्रदर्शनमा आउने यो फिल्ममा नीर शाहसँगै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रविन खतिवडा, यमन श्रेष्ठ, बुद्धि तामाङ, बबिन राईलगायतको अभिनय रहेको छ । फिल्ममा शिवराम श्रेष्ठको छायांकन, मित्र डि. गुरुङको सम्पादन र गगन थापा मगरको पृष्ठभूमि संगीत छ।
‘सासले हैन, साथले चल्ने’ ट्यागलाइन बोकेको यो फिल्मको निर्माणमा नेपालका ठूला व्यावसायिक घराना गोल्छा समूह र प्रिज्मा एड्भर्टाइजिङ समूहले सहकार्य गरेका छन् । शेखर गोल्छा र रञ्जित आचार्य फिल्मका निर्माता हुन् ।












