सङ्गीत । गायक राजेश पायल राईको स्वरमा सजिएको नयाँ गीत ‘जुनसँग के दाँजुर…’ सार्वजनिक गरिएको छ । गीतकार तथा म्युजिक भिडियो मोडल भुवन लोहनीको रचनामा तयार भएको यो गीतको भिडियो ओएसआर डिजिटलमार्फत दर्शकमाझ ल्याइएको हो । केही वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका लोहनी पछिल्लो समय गीत लेखनमा सक्रिय छन् ।
भुवनको रचनामा बनेको यो आधुनिक गीतमा संगीतकार दीपक शर्माको संगीत रहेको छ भने साहस शास्यले संगीत संयोजन गरेका छन् । गीतको मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका हुन् । गीतको भिडियो आकर्षक बनेको छ। भिडियोमा नव मोडल अर्विसा थापासँगै गीतकार स्वयं भुवन लोहनीको अभिनय रहेको छ । दुवैको जोडी दर्शकका लागि आकर्षक देखिएको छ । भिडियो लोहनीको जन्मथलो लमजुङमा छायांकन गरिएको हो, जहाँ सुन्दर प्राकृतिक दृश्य र मनोरम हिमालहरू समेटिएका छन् ।
भिडियोको निर्माण सविता घले मोहनीले गरेकी हुन् भने निर्देशन तथा छायांकन कृष्णबहादुर थापाले गरेका छन् । निर्देशक थापाले गीतको भावनात्मक सौन्दर्यलाई दृश्य माध्यममार्फत प्रभावकारी रूपमा प्रस्तुत गरेका छन् ।











