फिल्म । नेपाली रजतपटमा आफ्नो करियरको दशौं वर्षमा हिँडिरहेकी अभिनेत्री वर्षा राउत अभिनित फिल्म ‘हर्ष’ प्रदर्शनरत छ । ‘नाइँ नभन्नू ल ४’ बाट अभिनय यात्रा सुरु गरेकी वर्षा यसअघि प्रायः ‘गर्ल नेक्स्ट डोर’ र गृहिणीको भूमिकामा बढी देखिने गरेकी थिइन् ।
प्रायः ‘मल्टी स्टारर’ फिल्ममा काम गर्दै आएकी वर्षाले एकता पौडेलको डेब्यु निर्देशन रहेको फिल्म ‘हर्ष’मा भने केन्द्रीय भूमिका निर्वाह गरेकी छन् । फिल्ममा उनले वंश परम्परा धान्नैपर्ने पुरातन सोचको चेपुवामा परेकी बुहारीको चरित्र निभाएकी छन् । लामो समयपछि फिल्मको मुख्य पात्रका रूपमा देखिन लागेकोमा उनी उत्साहित देखिएकी छन् ।
उनी भन्छिन्, ‘केन्द्रीय भूमिका भएपछि दर्शकले मेरो कामलाई अलि ध्यान दिएर हेर्नुहुन्छ भन्ने लागेको छ । दर्शकहरूले वर्षाले यसमा कत्तिको काम गरिन्, अघिल्ला फिल्मभन्दा कत्तिको सुधार गरिन् भनेर विचार गर्नुहुन्छ भन्ने अपेक्षा राखेकी छु ।’
पछिल्लो पटक फिल्म ‘ऐँचो पैँचो’ बाट प्रशंसा बटुलेकी वर्षा विवाहित भएकाले उनीसँगको अन्तरवार्तामा अक्सर परिवार र सन्तानका विषय उठ्ने गर्छन् । फिल्मको कथावस्तु पनि पारिवारिक र सन्तानसँग जोडिएकाले कतै यो पात्रमा उनको वास्तविक भोगाइ मिसिएको त छैन भन्ने जिज्ञासामा उनले यसलाई नकारिन् ।
‘मैले एउटा पात्र निर्वाह गरेकी हुँ, त्यसैले व्यक्तिगत जीवनले फरक पार्दैन । सन्तान हुँदा-नहुँदा त्यो पात्रले के-कस्तो भोगाइ भोग्छ भन्ने देखिन्छ,’ उनले भनिन्, ‘मैले निर्देशकले दिएको ‘इसेन्स’ अनुसार आफूलाई पात्रमा ढाल्ने कोसिस गरेकी छु ।’
कथा सुनेपछि पात्रमा न्याय गर्न सक्ने आत्मविश्वास पलाएको बताउने वर्षाले ‘हर्ष’ले दर्शकलाई खुशीको आँसु दिने दाबी गरिन् । पछिल्लो समय पारिवारिक फिल्म हेर्न दर्शकको आकर्षण बढेकाले पनि उनी नतिजाप्रति सकारात्मक छिन् । ‘अहिले नेपाली फिल्मले एकदमै राम्रो गरिरहेका छन् । हाम्रो फिल्मले हर्षित पार्दै रुवाउनेछ र दर्शकले यसमा आफ्नो परिवारसँग जोडिएको अनुभूति गरिरहनुभएको छ,’ उनले भनिन्। फिल्ममा वर्षाले अभिनेता खगेन्द्र लामिछानेसँग जोडी बाँधेकी छन् । उनले दर्शकले यो जोडीलाई मन पराउने विश्वास समेत व्यक्त गरिन्।












