‘जारी २ : सङ अफ च्याब्रुङ’लाई पहिलो दिन २ सय ६९ शो

फिल्म । नेपाली फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ले पहिलो दिन २ सय ६९ भन्दा बढी शो पाएको छ । कात्तिक २१ गते शुक्रबारबाट सिनेमाघरहरूमा रिलिज भएको यो फिल्मको प्रिमियरमा उपस्थित फिल्मकर्मी तथा दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् । निर्माण युनिटले देशभरका सिनेमाघरहरूमा फिल्मले राम्रो ओपनिङ गर्ने विश्वास लिएको छ ।

यसअघि २०८० मा रिलिज भएको ‘जारी’को सिक्वेल यो फिल्म लिम्बू समुदायको च्याब्रुङ नृत्य र संस्कृतिलाई केन्द्रित गर्दै सामाजिक सन्देश बोकेको छ । प्रिमियरमा मुख्य कलाकार दयाहाङ राई, मिरुना मगर र विजय बरालसहित टिमका सदस्यहरू उपस्थित थिए ।प्रिमियरमा उपस्थितले ‘फिल्म सुन्दर र सरल लाग्यो । कथा भावनामा गहिरो छ’ जस्ता प्रतिक्रिया दिएका छन् ।

फिल्मको ‘साउण्ड र भिजुअल दुवै उत्कृष्ट’ भन्दै प्रिमियर हेर्नेले तारिफ गरेका छन् । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको यो फिल्मलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् ।

दयाहाङ राई, मिरुना मगर र विजय बराल मुख्य भूमिकामा छन् भने बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय छ । बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा बनेको यो फिल्म यस वर्षको व्यापारिक सफलताको अपेक्षित मानिएको छ ।

कमेन्ट गर्नुहोस्