सङ्गीत । गायिका रचना रिमालले तीजको अवसरमा अस्ट्रेलियाका विभिन्न सहरमा आयोजना गरिएका आफ्ना सबै सांगीतिक कार्यक्रम रद्द भएको जानकारी दिएकी छन् । कार्यक्रम रद्द भएपछि आफू स्वदेश फर्किन लागेको उनले सामाजिक सञ्जालमार्फत बताएकी छन् ।
एनआरएनए वुमन फोरम नारीकुञ्ज अस्ट्रेलियाको आयोजनामा अस्ट्रेलियाका विभिन्न सहरमा रचनाको सहभागितामा १० वटा तीज कार्यक्रम आयोजना गर्ने तयारी थियो । नेपालमा बुधबार विनाशकारी बाढी आएपछि रचनाले यसअघि नै कार्यक्रम स्थगित गरिएको जानकारी दिएकी थिइन् ।
तर, बुधबार नै आयोजकले सबै कार्यक्रम रद्द गर्ने निर्णय गरेको उनले बताएकी छन् । राष्ट्र शोकमा रहेको बेला आफूलाई उत्सवमा रमाउन मनले नमानेको भन्दै रचना स्वदेश फर्किन लागेकी हुन् ।
रचनाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘यो कुनै जिल्लाको पीडा होइन, सिंगो देशको पीडा हो । फेरि भेट्नेछौँ, फेरि गाउनेछौँ, फेरि नाच्नेछौँ । तर अहिले होइन । अहिले हाम्रो देशलाई हाम्रो उत्सवभन्दा हाम्रो साथ चाहिएको छ । अहिले हाम्रो गीतभन्दा ठूलो उद्धारको आवाज छ । त्यसैले यसपटक हामीले उत्सव रद्द गरेका छौँ ।’
नेपालमा आएको बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएपछि विभिन्न कलाकार तथा सांगीतिक कार्यक्रम आयोजकहरूले आफ्ना कार्यक्रम स्थगित तथा रद्द गर्दै प्रभावितको सहयोगमा जुटिरहेका छन्










