स्पोटिफाईका निःशुल्क प्रयोगकर्ताका लागि नयाँ सुविधा

सङ्गीत । विश्वप्रसिद्ध अडियो प्लाटफर्म स्पोटिफाईले निःशुल्क प्रयोगकर्ताका लागि नयाँ सुविधाहरू ल्याएको छ । यसअघि सशुल्क (प्रिमियम) प्रयोगकर्ताहरूलाई मात्र उपलब्ध हुने धेरै फिचरहरू अब निःशुल्क प्रयोगकर्ताहरूले पनि प्रयोग गर्न सक्नेछन् । टेकक्रन्चका अनुसार, यो अपडेटले निःशुल्क प्रयोगकर्ताहरूलाई आफ्ना साथीहरू, मनपर्ने कलाकारहरूले सामाजिक सञ्जालमा सेयर गरेको वा आफूले खोजेको कुनै पनि गीत सुन्न सजिलो बनाएको छ ।

स्पोटिफाईले यी नयाँ फिचरहरूलाई ‘पिक एन्ड प्ले’, ‘सर्च एन्ड प्ले’ र ‘सेयर एन्ड प्ले’ नाम दिएको छ । ‘पिक एन्ड प्ले’ सुविधाअनुसार, निःशुल्क प्रयोगकर्ताले एपमा प्ले बटन थिचेर कुनै पनि गीत छान्न र तुरुन्तै बजाउन सक्छन् । यसले मोबाइल एपमा सधैंको स्युटल मोडको प्रतिबन्ध हटाएको छ ।

‘सर्च एन्ड प्ले’ फिचरले प्रयोगकर्तालाई आफ्नो मनपर्ने गीत, कलाकार वा एल्बमको नाम टाइप गरेर तुरुन्तै सुन्न अनुमति दिन्छ । यो सुविधाले खोज प्रक्रियालाई सहज बनाएको छ । त्यस्तै, ‘सेयर एन्ड प्ले’ ले सामाजिक सञ्जालहरूमा सेयर गरिएका गीतहरू सिधै सुन्न सकिने बनाउँछ । उदाहरणका लागि, इन्स्टाग्राम स्टोरी वा नोट्समा सेयर गरिएको स्पोटिफाई गीतलाई ट्याप गरेर तुरुन्तै प्ले गर्न सकिन्छ । यो फिचरले प्रयोगकर्ताहरूलाई सामाजिक सञ्जाल र स्पोटिफाईबीचको जोडाई मजबुत बनाउँछ।

स्पोटिफाईका अनुसार, यी नयाँ सुविधाहरू विश्वव्यापी रूपमा निःशुल्क प्रयोगकर्ताका लागि उपलब्ध गराइने छन् । तर, केही प्रतिबन्धहरू कायम रहनेछन्, जसलाई प्रिमियम प्रयोगकर्ताहरूले सामना गर्नुपर्नेछैनन् । नेपालमा पनि स्पोटिफाईका प्रयोगकर्ताहरू बढ्दै गएका छन् । हालै कम्पनीले नेपाली प्रयोगकर्ताका लागि शुल्क पनि बढाएको थियो । यो नयाँ सुविधाले नेपाली निःशुल्क प्रयोगकर्ताहरूलाई पनि फाइदा पुग्ने छ, जसले प्लेटफर्मको लोकप्रियता थप बढाउन सक्छ ।

कमेन्ट गर्नुहोस्