कस्तो छ ‘माग्ने राजा’ को ट्रेलर ?

फिल्म । ऋषि लामिछानेको निर्देशनमा बनेको फिल्म ‘माग्ने राजा’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा ३ मिनेट ४० सेकेण्डको ट्रेलर रिलिज गरिएको हो । ट्रेलरमा मुख्य अभिनेता केदार घिमिरे (माग्ने बुढा) लाई केन्द्रमा राखिएको छ ।

ट्रेलरले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे संकेत दिन्छ । केदारसहित वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शिशिर बाङ्देल र शारदा गिरीलाई ट्रेलरमा स्थान दिइएको छ । मिस पबीलाई टेलिभिजन प्रस्तोता, गायिका तथा पूर्व राष्ट्रिय सभा सदस्य कोमल वलीलाई न्यायाधीशको भूमिकामा प्रस्तुत गरिएको छ । फिल्मको कथा एक साधारण गाउँले युवकको धनी बन्ने सपनामा केन्द्रित छ ।

केदारलाई विभिन्न अवतारमा देखाइएको यो फिल्म उनको पहिलो शीर्ष भूमिका हो । यसअघि उनी सहायक भूमिकामा सीमित थिए । आगामी भदौ ६ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक परिस्थितिमाथि व्यङ्ग्य गरेको छ । बिना मेहनत पैसा कमाउन नहुने सन्देश बोकेको ट्रेलरले दर्शकमा कौतूहलता जगाएको छ ।

आरम्भ प्रोडक्सनको ब्यानरमा बनेको फिल्मका प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे हुन्, जो ‘इच्छा’ पछि लामो समयपछि फिल्म निर्माणमा फर्केका छन् । हाल उनी दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष पनि हुन् ।नरेन्द्र मैनालीले खिचेको फिल्ममा आर्यन सिग्देलको विशेष भूमिका छ । आरआर फिल्मस्ले वितरण गर्ने यो फिल्ममा सामीप्यराज तिमल्सेनाको कथा, पटकथा र संवाद तथा दीपक शर्मा र बाबुल गिरीको संगीत छ ।

कमेन्ट गर्नुहोस्