‘मै राम्री छु त नी’ भन्दै स्वस्तिमा

फिल्म । वैशाख २५ गतेदेखि प्रदर्शनरत नेपाली फिल्म ‘लालीबजार’को गीत ‘मै राम्री छु त नी’ सार्वजनिक गरिएको छ । फिल्म प्रदर्शनअघि गीतको सानो अंश सार्वजनिक गरिएको थियो । उक्त अंश टिकटक, रिल्स लगायत सामाजिक सञ्जालमा लोकप्रिय बनेपछि दर्शकको मागअनुसार निर्माण पक्षले पूर्ण गीत सार्वजनिक गरेको हो ।

षट्कोण आर्ट्सकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा दीपिका बयम्बू मगरको स्वर रहेको छ । कोरस स्वरमा रन्जिता विश्वकर्मा, बिन्दु बिसी, सुनिता सुनार, मनोज विक र गोविन्द अनेकको सहभागिता छ। गीतमा प्रकाश सपूतको शब्द तथा संगीत रहेको छ । सार्वजनिक गीतमा फिल्मकी मुख्य पात्र स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, मुकुन्द श्रेष्ठ, जानकी कडायत, आशा पौडेल, तारा शर्मा लगायतका कलाकारहरू फिचर्ड छन्। गीतको कोरियोग्राफी प्रदीप लामाले गरेका हुन्। गीतमा नारी सौन्दर्यको बयान गरिएको छ, जसको केन्द्रमा स्वस्तिमा खड्का रहेकी छिन्।

छोरीको रक्षाका लागि आमाले गर्ने संघर्षको कथामा आधारित फिल्म ‘लालीबजार’ घरेलु बजारमा विसं २०८३ मा प्रदर्शन भएका फिल्ममध्ये सबैभन्दा बढी व्यापार गर्ने फिल्म बनेको निर्माण पक्षको दाबी छ। फिल्मले घरेलु बजारमा ९ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्दै १० करोड क्लबतर्फ अग्रसर रहेको बताइएको छ।

षट्कोण आर्ट्सका निर्माता म्याक्स दीपेश खत्री, अभिनेता रवीन्द्र सिंह बानियाँ तथा निर्देशक प्रदीप भट्टराईलगायतको टिमले यसअघि ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता सफल फिल्म निर्माण गरिसकेको छ। यद्यपि ‘लालीबजार’मा निर्देशनको जिम्मा यम थापालाई दिइएको छ।

फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरबल चौधरीलगायत कलाकारको अभिनय रहेको छ।

यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गरेका छन्। विशाल थियटर क्षेत्रमा अभिनेता तथा निर्देशकका रूपमा सक्रिय छन् भने प्रसंशा जेन–जी पुस्ताकी चर्चित कलाकार हुन्। निर्देशक यम थापाको कथा तथा निर्देशनमा बनेको फिल्मको पटकथा र संवाद यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन्। फिल्मलाई म्याक्स दीपेश खत्रीले निर्माण गरेका हुन् ।

कमेन्ट गर्नुहोस्