फिल्म । गायक रामकृष्ण ढकाल निर्माता रहेको फिल्म ‘मालती मंगले’ मा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत अनुबन्धित भएका छन् । शुक्रबार निर्माताले बराल र राउतसँग औपचारिक सम्झौता गरेका हुन् । रानी म्युजिक इन्टरनेशनल प्रा.लि.को ब्यानरमा निर्माण हुने यो फिल्मलाई प्रकु पाण्डेयले निर्देशन गर्नेछन् । फिल्मको कथा निर्देशक पाण्डेयले लेखेका हुन् भने संयोग गुरागाईं ले पटकथा र संवाद तयार पारेका छन् । सागर ज्ञवाली कार्यकारी निर्माता रहेको फिल्मको छायांकन महेश पौडेलले गर्नेछन् ।
रोमी तण्डुकारले सम्पादन, कृष्ण भण्डारीले रङ संयोजन, राजेन्द्र थापाले गीत रचना र राजनराज सिवाकोटीले सङ्गीत दिने फिल्म ‘मालती मंगले’ पारिवारिक प्रेमकथामा आधारित रहेर तयार हुने निर्देशक पाण्डेले बताए ।
कलाकारद्वय बराल र राउतले यो फिल्मका लागि आफ्नो चरित्र निर्माण गर्न करिब तीन महिना अन्य फिल्ममा काम नगर्ने भएका छन् । फिल्मको छायांकन भदौको पहिलो हप्ताबाट सुरु भई करिब ४० दिनसम्म चल्नेछ । ‘मालती मंगले’ २०२५ को अन्त्यतिर प्रदर्शनमा आउने तयारीमा छ ।











