वैदेशिक रोजगारीको कथामा ‘रियाल रिङ्गेट’

फिल्म । वैदेशिक रोजगारीको कठिनाइ र भावनात्मक कथालाई पर्दामा उतार्ने फिल्म ‘रियाल रिङ्गेट’को टिजर सार्वजनिक भएको छ । साउन १६ गते रिलिज हुने यो फिल्मको टिजरले नेपाली युवाहरूको सपना, सङ्घर्ष, पारिवारिक बिछोड र प्रवासको कठोर यथार्थलाई मार्मिक रूपमा प्रस्तुत गरेको छ । नेपालमा रोजगारी अभावले विदेश पलायन हुने युवाहरूको वियोग, चुनौती र षड्यन्त्रमा फस्ने कथालाई टिजरले उजागर गरेको छ । विभोर पोखरेलको निर्देशनमा बनेको फिल्ममा प्रमोद चौलागाईं, निता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरीलगायतका कलाकार छन्। कथा प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्मको नाम ‘रियाल रिङ्गेट’ कतार, साउदी अरेबिया र मलेसियाको मुद्राबाट प्रेरित छ, जुन नेपाली श्रमिकका मुख्य गन्तव्य हुन् । गगनलाल प्रधान निर्माता रहेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र राजीव समरको कोरियोग्राफी छ। गीतमा सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेको स्वर छ। गीतका शब्द अमर न्यौपाने, प्रदीप भारद्वाज र चन्दनध्वज केसीले लेखेका छन् ।
कमेन्ट गर्नुहोस्