देश । नेपाल प्रेस युनियन काठमाडौं शाखामा महेश्वर गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । नयाँ नेतृत्व चयनका लागि अध्यक्ष र सचिवमा निर्वाचन भएको थियो भने अन्य पदमा सर्वसम्मत भएको थियो । अध्यक्षमा गौतमले ३ सय १५ मत प्राप्त गरेर विजयी हुँदा उहाँका प्रतिस्पर्धी तथा नेपाल टेलिभिजनमा कार्यरत दिलीपप्रकाश कार्कीले १ सय २९ मत ल्याए ।
त्यस्तै, सचिवमा हिमाल प्रेसमा कार्यरत सन्तोष अधिकारीले २ सय ८५ मत ल्याएर विजयी हुनुभयो भने नयाँ पत्रिका दैनिकमा कार्यरत केशव पाण्डेले १ सय ५१ मत ल्याए । कुल ७ सय ५८ मतदाता रहेकोमा ४ सय ५३ मत खसेको थियो ।
युनियनको जिल्ला खुला उपाध्यक्षमा पुजन आचार्य, समावेशी उपाध्यक्षमा श्रद्धा कोइराला, सहसचिवमा पूजा बगाले र कोषाध्यक्षमा भेषराज कार्की सर्वसम्मत निर्वाचित भए ।
त्यसैगरी सदस्यमा शिवलाल पौडेल, विशाल पुरी, मदन रिजाल, सागर जोशी, रामचन्द्र मिश्र, अनुप प्रधान, मिक्साङ लामा, मुना दाहाल, सकुन्तला राना मगर निर्विरोध निर्वाचित भएका हुन् । नव निर्वाचित कोषाध्यक्ष कार्कीले केही दिनमा नयाँ कार्यसमितिले पदभार ग्रहण गरेर जिम्मेवारी थाल्ने जानकारी दिए ।









