विदेश । युरो कपको एफ समुह अन्तर्गत मंगलवार दुइ खेल भयो । निकै कडा भिडन्त मानिएको समुहमा साविक विजेता पोर्चुगल , हंगेरी , जर्मनी र फ्रान्स छन् । एफ समुहको भएको भिन्न खेलमा पोर्चुगल र फ्रान्सले विजयी सुरुवात गरेका छन् । युरोपियन च्याम्पियनसिपको साविक विजेता पोर्चुगलले मंगलबार भएको पहिलो खेलमा हंगेरीलाई ३-० गोलको नतिजामा पराजित गरेको छ ।
हंगेरीको बुडापेस्टमा ६७ हजार समर्थकसामु भएको खेलमा पोर्चुगललाई जित दिलाउन कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा राफेल गुरेरो एक गोल गरे । पहिलो हाफमा हंगेरीको रक्षापंक्ति पार गर्न नसकेको पोर्चुगलले निर्धारित समयको खेल सकिन ६ मिनेट बाँकी रहँदा पहिलो गोल गरेको थियो । ८५ मिनेटसम्म सम्हालिएको हंगेरीले अन्तिमको १० मिनेट सम्हालिन नसक्दा तीन गोल खायो ।
यस्तै , सम्पन्न दोस्रो खेलमा जर्मनीलाई १-० गोलको नतिजामा पराजित गरेसँगै विश्वकप विजेता फ्रान्सले प्रतियोगितामा विजयी यात्रा सुरुआत गरेको छ । जर्मनीको घरेलु मैदान एलिनाज एरिनामा भएको प्रतिस्पर्धात्मक खेलको १९औं मिनेटमा फ्रेन्च लेफ्ट ब्याक लुकास हर्नान्डेजले गरेको क्रसमा हुमल्सको बल क्लियर गर्ने प्रयास गोलमा परिणत भएको थियो । साथै , फ्रान्सका किलियान एम्बाप्पे र करिम बेन्जिमाले गरेको दुई गोल अफसाइडका कारण रद्द भएका थिए । प्रतियोगिताको तीन पटकको च्याम्पियन जर्मनी पहिलो पटक युरोपियन फुटबल च्याम्पियनसिपको पहिलो खेलमा पराजित भएको हो ।









