फिल्म । ‘थ्री इडियट्स’ र ‘पीके’ जस्ता ब्लकबस्टर फिल्ममार्फत दर्शकको मन जितिसकेका आमिर खान र निर्देशक राजकुमार हिरानी फेरि एकपटक एउटै प्रोजेक्टमा काम गर्न लागेका छन् । ११ वर्षपछि उनीहरूको सहकार्य हुने भएपछि बलिउडमा उत्साह थपिएको छ । अहिले आमिर खान फिल्म ‘सितारे जमीन पर’ मार्फत चर्चामा छन्, जुन मे २० मा प्रदर्शन हुँदैछ । यसैबीच, भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार, आमिर र हिरानीले आफ्नो नयाँ फिल्मको तयारी थालेका छन् । अहिले स्क्रिप्ट लेखनको काम भइरहेको छ।
रिपोर्ट अनुसार, फिल्मको कथा सामान्य मानिसको जीवनमा आधारित हुनेछ, जसमा रोमान्स, हास्य र गहिरो भावना मिसिएको हुनेछ । यो स्टोरीलाइन हिरानीको चिनिएको शैलीसँग मेल खाने भनेइको छ । सामाजिक सन्देशसहित मनोरञ्जनले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ ।
राजकुमार हिरानीले पछिल्लो पटक शाहरूख खानको मुख्य भूमिका रहेको फिल्म ‘डंकी’ मा निर्देशन गरेका थिए । अब उनी आमिर खानसँगको सफल जोडीलाई पुनः पर्दामा ल्याउन लागेका छन् । ‘थ्री इडियट्स’ (२००९) ले शिक्षा प्रणालीको व्यंग्य गर्दै आमिर-हिरानी जोडीलाई ऐतिहासिक सफलताको शिखरमा पुर्याएको थियो।










