फिल्म । दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा : घर नं २’ को अग्रिम बुकिङ तथा टिकट विक्री हिजो (मंगलबार) साँझदेखि खुला गरिएको छ । जेठ २ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यस फिल्मले प्रमुख मल्टिप्लेक्स चेनहरूमा उत्साहजनक शो संख्या पाएको छ ।
देशकै सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले फिल्मलाई काठमाडौंका आउटलेटमा २५ र उपत्यका बाहिरका आउटलेटमा २२ गरी कुल ४७ शो उपलब्ध गराएको छ । यसैगरी, आइएनआईले आफ्ना चारवटा आउटलेटमा १५ शो, वान सिनेमाजले कालीमाटी आउटलेटमा चार शो र एफक्यूबले चार शो प्रदान गरेका छन् । अन्य मल्टिप्लेक्सहरुले पनि यसलाई उल्लेख्य शो दिएको बताइएको छ।
वितरक करण श्रेष्ठका अनुसार केही हलहरूले शो खोल्ने प्रक्रिया जारी राखेका छन् र आज (बुधबार) र भोलि (बिहीबार) बिहानसम्ममा देशभरका हलहरूको शोको यकिन तथ्यांक प्राप्त हुनेछ । निर्माण पक्षले राम्रो हाइप बनाएको यो फिल्मले आक्रामक व्यापार गर्ने विश्वास लिएको छ ।
साहित्यकार बुद्धिसागरको पहिलो पटकथा लेखन रहेको ‘के घर के डेरा : घर नं २’ मा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्ट लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको यस फिल्मको छायांकन कृष्णबहादुर थापाले गरेका हुन् । युवराज कार्की कार्यकारी निर्माता रहेको फिल्ममा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन निर्माताको रुपमा रहेका छन् । ‘के घर के डेरा : घर नं २’ ले काठमाडौंमा घर हुने र डेरामा बस्नेहरूको कथा, सपना र संघर्षलाई प्रस्तुत गर्ने बताइएको छ ।










