फिल्म । आगामी वैशाख २६ गतेदेखि प्रदर्शनमा हुने फिल्म ‘ऊनको स्वीटर’को प्रचारप्रसारलाई अझ प्रभावकारी बनाउन यसका निर्माण समूह आर्टमान्डु कस्सिएको छ । फिल्मका गीतसङ्गीत निर्देशकसमेत रहेका गायक सुजन चापागाई देशभरका दर्शकसँग भेटघाटका लागि निस्किएका छन् । साङ्गीतिक कार्यक्रममार्फत संवादमा हुने कार्यक्रमको सुरुआत पोखराबाट गरिएको छ ।
‘ऊनको स्वीटर साँझ विथ सुजन चापागाईँ’ शीर्षकमा पोखरामा कार्यक्रम भईसकेको छ भने धरानमा पनि कार्यक्रम आयोजना गरिने भएको छ । कार्यक्रममा सुजनसँगै फिल्मका कलाकार विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सम विक्रम राई र निर्देशक नवीन चौहानको विशेष उपस्थिति रहनेछ ।
पोखराको लेकसाइडस्थित हल्लन चोकमा आज अपराह्न ४ बजेबाट सुरु भएको कार्यक्रम हेर्न तन्नेरी पुस्ताको उल्लेख्य उपस्थिति थियो । सुजनले सङ्गीतमार्फत आर्टमान्डुसँग जोडेको दर्शकलाई फिल्म ‘ऊनको स्वीटर’ सँग होड़ने प्रयास निर्माण टिमको छ । कार्यक्रममा गुरुङ समूहले ‘मखमली’ गीतमा र यस फिल्मका कलाकारहरू एलेक्स पारस र परीक्षा लिम्बुले ‘काफ्ले’ गीतमा नृत्य प्रस्तुति दिएका थिए । सुजनले ‘फूल’ गीतमा एकल प्रस्तुति दिए ।
यस्तै, धरानको रङ्गशालामा वैशाख १८ गते साँझ ५ बजे आयोजना हुने कार्यक्रम ‘ऊनको स्वीटर साँझ विथ सुजन चापागाईँ’लाई सुजनको ‘द इन्फिनिटी ब्यान्ड’ ले साथ दिनेछ । कार्यक्रममा ‘काफ्ले’ गीतकी गायिका झुमा लिम्बु र चर्चित गायिका सुनिता थेगिमको पनि विशेष प्रस्तुति रहनेछ ।










