सौन्दर्य । सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल’सँग यो वर्ष ‘मिस युनिभर्स’ले सहकार्य नगर्ने भएको छ । मिस युनिभर्सले यो सहकार्य तोडेको हिडन ट्रेजरका अध्यक्ष दीवाकर राजकर्णिकारले एक कार्यक्रम बीच जानकारी गराएका हुन् । गत तिन वर्ष यता नेपालले मिस युनिभर्समा आफ्नो प्रतिनिधि पठाउदै आएको हो । द हिडेन ट्रेजरको आफ्नो २२ औ तथा मिस नेपालको २३ औ वार्षिकोत्सवको उपलक्ष्यमा नग्मा श्रेष्ठ पहिलो मिस नेपाल युनिभर्स घोषणा गर्दै नेपाल सहभागी हुने जानकारी गराइएको थियो । ६६ औ मिस युनिभर्समा नग्मा पहिलो पटक नेपाललाई प्रतिनिधित्व गर्दै सहभागी भएकी थिइन् । नग्माकै पहलमा यसलाई यसमा नेपालले सहभागिता जनाउने अवसर पाएको थियो ।
‘मिस युनिभर्सको प्रावधानअनुसार प्रत्येक वर्ष लाइसेन्स नवीकरण गर्नुपर्छ । तर यसपाली अचानक उहाँहरुले हामीलाई लाइसेन्स नदिने निर्णय गर्नुभएछ’, निर्देशक सुवर्ण क्षेत्रीले भने, ‘यो दुखद कुरा हो । तर उहाँहरुले के पनि भन्नु भएको छ भने, यो यस वर्षको लागि मात्र हो। हिडन ट्रेजरले फेरि लाइसेन्स नपाउने भनेको होइन त्यो ढोका खुल्ला छ, अर्को वर्ष दिन पनि सक्छ।’हिडन ट्रेजरले सहकार्य नगर्नुको कारण मिस युनिभर्ससँग सोधेको थियो। तर मिस युनिभर्सले ठोस कारण नरहेको उल्लेख गरेर पत्र पठाएको छ ।
यससँगै हिडन ट्रेजरले मिस नेपाल २०२० का लागि आवेदन खुल्ला गरेको छ। मिस नेपालको फिनाले आगामी मे १५ मा होटल अन्नपूर्णमा हुनेछ। मार्च ८- २४ सम्म राजधानी बाहिरका धनगढी, नेपालगञ्ज, बुटवल, पोखरा, चितवन, वीरगन्ज, धरान र बिर्तामोडमा अडिसन गरिने भएको छ । यसपटक विजेतालाई २ लाख ५० हजार र उप-विजेतालाई २५ हजार प्रदान गरिने ट्रेजरले जनाएको छ।











