निर्देशक बडजात्या नेपाल आउँदै , अमिताभसँग पहिलो सहकार्य

फिल्म । कोरोना भाइरसको कारण सिर्जित अवस्थाले गर्दा ठप्प झैँ रहेको सिनेमा क्षेत्र विस्तारै चलायमान बन्दैछ । जिल्ला प्रसासन कार्यालय काठमाडौंको पछिल्लो निर्णय अनुसार हल खोल्न पाइने भएपछी उत्साहित बनेका सिनेमा प्रेमीलाई अर्को खुसिको खबर छ । बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनको अभिनय रहने फिल्म ‘उँचाइ’ नेपालमा छायांकन हुने खबरले उत्तिकै उत्साहित छन् । बलिउडको प्रसिद्ध व्यानर राजश्री प्रोडक्सनले निर्माण तथा सुरज बडजात्याको निर्देशनमा तयार हुने फिल्ममा मित्रताको कथा देखाइनेछ । 

अमिताभसंगै अनुपम खेर, बोमन इरानी, नीना गुप्ता, पंकज त्रिपाठी लगायतको अभिनय रहने फिल्मको लोकेसन तय गर्न निर्देशक सुरज आज नेपाल आउने भएका छन् । उनि आफ्नो टीमसँग नेपाल आउन लागेका हुन् । उनि आज नेपाल आएर काठमाण्डौमा बसोबास गर्नेछन् भने सोमबार विहान हिमाली भेगमा लोकेसन हेर्न हेलिकप्टर मार्फत प्रस्थान गर्नेछन् । पहिलो चरणमा लुक्ला, नाम्चे आदि लोकेसन हेरेर फर्किएको टोलिले अहिले मुस्ताङमा सुटिङ हुने लोकेसनहरु छान्न आउन लागेका हुन् । पहिलो पटक बडजात्याले अमिताभ बच्चनसँग काम गर्ने मौका जुराएका हुन् । 

नेपालमा ४० देखि ४५ दिन छायांकन सेड्युल रहेको नेपालको लाइन प्रोड्युसर कम्पनि थ्री ह्विलर्स फिल्म्सका सुरज आचार्यले बताए । उनकै कम्पनिले विगत तीन वर्ष देखि भारतीय फिल्म कम्पनिसंग कुराकानी अगाडी बढाएको थियो । ‘मैले बारम्बार नेपालमा पनि विदेशको झैँ लोकेसन छ भनेर बलिउडका  फिल्मकर्मीलाई भन्ने गरेको थिए’ सुरजले भने ,’फिल्मको काम कोरोना भाइरसले गर्दा पनि केहि समय ढिलो भयो ।’

सुरजले राजश्री फिल्म्सले नेपालमा छायांकन सकेसंगै बलिउडबाट अन्य धेरै सिनेमा छायांकनको लागि आउने संकेत गरे । फिल्मको लागि नेपालका प्रोडक्सन म्यानेजर छन् अरुण रेग्मी । यतिबेला सुरज र अरुण हिमाली भेगमा छायांकनको लागि लोकेसन हेर्न ट्रेकिङ गाइड तिलकराम राईसँग पुगेका छन् । यहिँ टीमलाई सोमबार निर्देशक बडजात्याको टीमले ज्वाइन गर्ने छ । 

यसको छायांकन मनाङ, मुस्ताङ्ग, लुक्ला लगायतका हिमाली भेगमा हुनेछ भने काठमाण्डौको आसपासमा पनि हुनेछ । ’हामीले काठमान्डौमा छायांकन गर्दा पनि नेपाली पर्यटनलाई टेवा पुग्ने लोकेसन छानेका छौं’ प्रोडक्सन म्यानेजर अरुण रेग्मीले बताए । उनले स्वयम्भु, बौद्ध लगायतका स्थान छानिएको बताए । फिल्ममा डेनी डेन्जोङ्पाको पनि मुख्य भूमिका रहनेछ । ४ जनाको मित्रताको कथा नेपालको हिमाली भेगमा बसोबास गर्ने डेनीसँग जोडिएर सुरु हुने बुझिएको छ । – न्युज कारखाना

कमेन्ट गर्नुहोस्