फिल्म । विन्ध्यवासिनी फाउन्डेसनद्वारा आयोजना गरिने ‘१५औँ विन्ध्यवासिनी म्युजिक अवार्ड २०८१’ विभिन्न पाँच गीतसङ्गीतका सर्जकलाई सम्मान तथा पुरस्कृत हुने भएका छन् । शनिवार काठमाडौँमा बसेको फाउन्डेसनको सल्लाहकारको भेलाले नगद राशी एक लाखसहित प्रदान गरिने ‘विन्ध्यवासिनी सङ्गीत दीर्घसाधना सम्मान’ गीतकार राजेन्द्र थापालाई प्रदान गर्ने निर्णय गरेको संयोजक विदुर गिरीले जानकारी दिए ।
उनले नगद राशी पचास हजारसहित प्रदान गरिने ‘विन्ध्यवासिनी सङ्गीत साधना सम्मान’ गायिका सङगीता शाक्यलाई प्रदान गरिने निर्णय गरिएको जानकारी दिनुभयो ।
‘हामीले हरेक वर्ष अवार्ड कार्यक्रम भन्दा अगाडि फाउन्डेसनको भेला बसेर सल्लाहकार समितिले सम्मान तथा पुरस्कार प्रदान गर्ने नाममा छलफल गरेर भेलामा सिफारिस गर्ने गर्छौँ । उक्त भेलामार्फत अनुमोदन भएको नामलाई पुरस्कार र सम्मान प्रदान गर्ने गरिन्छ । अवार्डमा प्रतिष्पर्धामा रहेकालाई भने निर्णयक र प्राप्त भोटममार्फत विजेता घोषणा गर्ने गर्छौँ’, संयोजक गिरीले भने ।
यस्तै, नगद राशी पच्चीस हजारसहित प्रदान गरिने ‘प्रेमध्वज सङ्गीत रत्न सम्मान’ गायिका निशा देशार, ‘झलकमान लोक-सङ्गीत सम्मान २०८१’ गायक शिरिष देवकोटा, ‘विन्ध्यवसिनी कला पत्रकारिता सम्मान’ कला पत्रकार शारदा थापालाई प्रदान गरिने संयोजक गिरीले बताउनुभयो । अवार्ड कार्यक्रम आउँदो चैत २८ गते जमलस्थित सांस्कृतिक संस्थान (नाचघरमा) हुँदैछ ।











